एमसीसीमा देउवा भन्दा ओली झन कडा : प्रचण्ड

लोकपथ
658
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पारित हुनुपर्छ भन्नेमा नेपाली कांग्रेसभन्दा नेकपा एमाले बढी पक्षधर रहेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा भन्दा एमाले अध्यक्ष केपी शर्मा ओली एमसीसी जस्ताको त्यस्तै पारित गर्न अझ कडा अडानमा रहेको बताएका हुन् ।

उनका अनुसार, एमसीसीलाई जस्ताको त्यस्तै पास हुन नदिनका लागि कांग्रेस र एमालेसँग पटकपटक छलफल भए पनि सहमति जुटेन । ‘मन नलागी नलागी एमाले नेतृत्वसँग छलफलका लागि गएका थियौँ, तर उहाँहरूले अपमानजनक भाषा प्रयोग गर्नुभयो,‘दाहालले भने।

दाहालले एमाले नेपाललाई इन्डोप्यासिफिक स्ट्राटेजी (IPS) को सदस्य बनाउने पहल गर्ने र स्टेट पार्टनरसिप प्रोग्राम (SPP) मा सैद्धान्तिक सहमति जनाउने पार्टी भएको आरोप पनि लगाए ।

उनले व्याख्यात्मक टिप्पणीसहित मात्र एमसीसी पारित गर्न आफूहरूको बारम्बारको प्रयास सफल भएको दाबी गर्दै भने, ‘कांग्रेस दृढ अडानमा थियो, एमाले र कांग्रेस मिलेपछि पारित भइहाल्छ भन्ने स्थिति बन्यो । अन्तिममा बहिष्कार गर्ने र मतदानमा भाग नलिने बाटो मात्रै बाँकी थियो, तर त्यसले अनुमोदन रोक्न सक्ने अवस्था थिएन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?