तेजेन्द्र बराल वेस्ट कोस्ट रिजनल चेयरमा निर्विरोध निर्वाचित

लोकपथ
427
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वेस्ट कोस्ट रिजनल चेयरको जिम्मेवारीमा तेजेन्द्र बराललाई निर्विरोध रूपमा निर्वाचित गरिएको छ । बरालको जितले त्यहाँको नेपाली समुदायमा ठूलो उत्साह र गर्वको वातावरण सिर्जना गरेको बताइएको छ ।

क्यालिफोर्नियामा लामो समयदेखि सक्रिय रहेका बरालले यसअघि क्यालिफोर्निया च्याप्टरको कोषाध्यक्षको रूपमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । साथै उनको सोही कार्यकाललाई एनआरएनए क्यालिफोर्नियाको इतिहासकै सर्वाधिक सफल कार्यकालको रूपमा सम्मानित गरिएको छ।

बरालको नेतृत्व शैली र वित्तीय व्यवस्थापनमा देखाएको कुशलताले उनलाई समुदायमा लोकप्रिय बनाएको छ। उनले कोषाध्यक्षको रूपमा कार्यरत रहेको अवधिमा विभिन्न सामुदायिक परियोजनाहरूको लागि प्रभावकारी र पारदर्शी ढंगले स्रोत सङ्कलन र व्यवस्थापन गरेको भन्ने कुरा स्थानीय नेताहरूले पनि प्रशंसा गरेका छन् । यो सफलताले उनलाई वेस्ट कोस्ट रिजनको नेतृत्वको जिम्मेवारीका लागि सर्वसम्मत रूपमा चयन गरिएको हो ।

निर्वाचनको परिणामपछि आयोजित एक विशेष समारोहमा बरालले आफ्नो नयाँ भूमिकाप्रति प्रतिबद्धता जनाउँदै भनेका छन्, ‘यो मेरो लागि मात्र नभई सम्पूर्ण नेपाली समुदायको सफलताको प्रतिबिम्ब हो । म यहाँको समुदायको हित र समृद्धिको लागि पूर्ण प्रयास गर्नेछु ।’

उनले आगामी कार्यकालमा युवा सशक्तीकरण, सांस्कृतिक संरक्षण, र समुदायको सामाजिक–आर्थिक विकासमा जोड दिने योजना सुनाए ।

एनआरएनए अमेरिकाका पदाधिकारीहरूले बरालको निर्विरोध निर्वाचनलाई समुदायको एकताको प्रतीकको रूपमा लिएका छन् ।

उनको कार्यकाल २०२५–२०२७ सम्म रहनेछ, र यस अवधिमा उनले वेस्ट कोस्ट क्षेत्रका विभिन्न राज्यहरूमा नेपालीहरूको हकहित र पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?