प्रतिवेदनलाई अन्तिम रूप दिँदै कुलिङ पिरियड छानबिन समिति, आजै प्रतिनिधिसभा बैठकमा पेस गरिने

लोकपथ
749
Shares

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित विशेष समितिको बैठक आज बिहान ७ बजेदेखि नै बसिरहेको छ । 

हिजो नै समितिको म्याद सकिएको भए तापनि हिजोको बैठकको निरन्तरतास्वरुप आज बिहानदेखि बैठक बसिरहेको हो । हिजो राति १२ बजेसम्म बैठक बसेको थियो । 

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा समितिले प्रतिवेदन पेस गर्ने तयारी छ । त्यसैले प्रतिवेदनलाई अन्तिम रूप दिन बैठक बसिरहेको हो । 

संघीय निजामती सेवा विधेयकमा २ वर्ष कुलिङ पिरियडको प्रावधान राख्ने सहमति भएपनि राष्ट्रिय सभामा पठाइसकेपछि त्यसमा त्रुटि देखेपछि गत २३ असारमा छानबिनका लागि संसदीय समिति बनेको थियो । समितिलाई सुरुमा २१ दिनको समय दिइएकोमा पछि एक साता थपिएको थियो । थपिएको म्याद हिजो साउन १८ गते नै सकिएको छ ।

छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कांग्रेसका सांसद सुशीला थिङ सदस्य छन् । यस्तै, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?