काठमाडौं । पछिल्लो समयका चर्चित गायक पवन गिरीको नयाँ गीत ‘फर्क गाउँघर सम्झेर’ सार्वजनिक भएको छ ।
दामोदर सुवेदीको रचनामा जीवनका अविस्मरणीय स्मृति, बाल्यकालका ती निर्दोष पल, माटोको सुगन्ध र गाउँघरको आत्मीय सम्बन्धको गहिरो भाव बोकेको गीत डी एण्ड डी इन्टरटियनमेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतले विशेषतः परदेशमा रहेर आफ्नो जन्मथलो, आमाबुबा, साथीभाइ, खेतबारी र पुराना दिनहरूको सम्झनामा आँखा रसाउने लाखौँ नेपालीहरूको मन छोएको छ ।
आधुनिकताको दौडमा शहरतिर भौंतारिएका नेपालीहरूलाई फेरि गाउँ फर्कने भावनाले यो गीत भावुक बनाएको छ।
यस गीतमा स्वर दिएका पवन गिरी, जसले नेपाल आइडल सिजन २ मा उत्कृष्ट प्रदर्शन गर्दै छैटौं स्थान हात पारेका थिए, अब व्यावसायिक संगीत यात्रामा निरन्तर सक्रिय छन् । पवन गिरीको स्वर सधैं स्रोताको मनमा गहिरो छाप पार्ने खालको रहेको छ ।
पप गीतले दर्शकको मनमा बस्न सफल पवनले अहिले भने भावुक गीत सार्वजनिक गरेका हुन् ।
‘म मेरो दर्शक र श्रोताप्रति आभारी छु। तपाईंहरूको माया, साथ र प्रेरणाले नै म अझ मेहनत गरेर नयाँ र मौलिक सिर्जना लिएर आउन प्रेरित हुन्छु। भविष्यमा अझ राम्रो गीतहरू तपाईँहरूसामु ल्याउने प्रतिबद्धता गर्दछु,’ पवनले भनेका छन् ।
गायक गिरीले अहिलेको जल्दोबल्दो समस्याका रुपमा रहेको वैदेशिक रोजगारीमा जानेहरुको कथा समेटेका छन् । साथै उनले विदेशमा रहेका लाखौँ युवाहरुलाई स्वदेशमा फर्किन समेत आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया