प्रधानमन्त्री ओलीको आरोप : संसद् अवरुद्ध गर्नेहरू लोकतन्त्र र संविधान विरोधी

लोकपथ
280
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र संसदीय व्यवस्थालाई मान्यता नदिनेहरूकै कारण संसद् अवरुद्ध भइरहेको आरोप लगाएका छन् ।

आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अराजकतावादी र राजतन्त्र चाहनेहरू संसदमा अवरोध सिर्जना गरिरहेको दाबी गरे ।

उनले भने, ‘जो मान्छे संविधान मान्दैन, जो मान्छे प्रणाली मान्दैन, लोकतन्त्र मान्दैन, संसदमा त्यस्ता मानिसहरू छन् र संसद् अवरुद्ध गरिरहेका छन्। उनीहरूलाई संसद् चाहिएको नै छैन ।’

प्रधानमन्त्री ओलीले संसदभित्रै पसेर संसदीय व्यवस्था भत्काउने र ‘आगो बाल्ने’ सोचले अहिलेको प्रणालीमा समस्या उत्पन्न भएको जिकिर गरे ।

उनका अनुसार यस्ता प्रवृत्तिहरू केवल नयाँ दलमा मात्र नभई पुराना पार्टीहरूमा पनि देखिन्छन्, जसलाई सुधार्नु आवश्यक रहेको उल्लेख गरे । साथै, नयाँ दलहरूले संविधान र कानुनको दायरा भित्र रहेर अभिव्यक्ति दिने स्वतन्त्रता पाउनुपर्नेमा उनले जोड दिए ।

श्रीलंका र बंगलादेशजस्ता मुलुकसँग तुलना गर्दै ओलीले भने, ‘नेपाल अहिले तीमध्ये कुनै बन्ने छैन । प्रणाली जोगाउन आवश्यक परे कडा कदम चाल्न पनि तयार छौँ ।’

लोकतन्त्रको रक्षा गर्न राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने बताउँदै उनले निर्वाचन प्रणाली नै लोकतन्त्रको मूल आधार भएको तर्क गरे ।

प्रधानमन्त्रीको यो टिप्पणी संसद् अवरुद्ध भइरहेको पृष्ठभूमिमा आएको हो, जहाँ सत्ता–प्रतिपक्षबिच लगातार वादविवाद र अवरोध देखिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?