अध्यक्ष नेपालप्रति खनालको कटाक्ष : ‘आदेशात्मक शैलीमा पार्टी चल्दैन’

लोकपथ
504
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन् । खनालले अध्यक्ष नेपालले आफूलाई पार्टी छाड्न निर्देशन दिएको घटनाले आफू स्तब्ध भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने, ‘अध्यक्षज्यूले मलाई पार्टी छाड भन्नुहुन्छ भन्ने त मैले कल्पना पनि गरेको थिइनँ। उहाँले मेरो अन्तर्वार्ताका आधारमा पार्टी छाड्न भन्नुभएको रहेछ।’

खनालले आफूले दिएको अन्तर्वार्ताले पार्टीलाई असर गरेको महसुस भए औपचारिक रूपमा पार्टी बैठक बोलाएर छलफल गर्नुपर्नेमा जोड दिए। उनले पार्टीभित्र छलफलको प्रक्रियालाई बेवास्ता गर्दै आदेशात्मक शैलीमा पार्टी छाड्न भनिएकोमा आपत्ति जनाए ।

‘पार्टी अध्यक्षले आदेश दिनासाथ पार्टी छाड्नुपर्ने हो भने त्यो त एकात्मक सोच हो। यस्तो पार्टी चल्दैन। मैले उहाँलाई भव्य नेताको रूपमा हेरेको थिएँ तर यति तल्लो स्तरको चिन्तन देख्दा दुस्ख लाग्यो,’ खनालले स्पष्ट शब्दमा भने ।

उनले अध्यक्ष नेपालप्रति कटाक्ष गर्दै भने, ‘पार्टी सञ्चालन गर्ने क्षमता नभए स्वयं पदबाट अलगिएर बाटो खोल्नुस्। पार्टी व्यक्तिकेन्द्रित होइन, संस्थागत प्रणालीमार्फत चल्नुपर्छ।’

खनालको पछिल्लो अभिव्यक्तिले एकीकृत समाजवादीभित्र गहिरो मतभेद सतहमा आएको प्रस्ट पारेको छ। हालै सार्वजनिक गरिएको उनको अन्तर्वार्ता र त्यसपछि अध्यक्ष नेपालको प्रतिक्रिया सँगै पार्टीको शीर्ष तहमा नेतृत्व संकट चुलिएको संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?