वर्षमान पुन भन्छन्– ‘एकता वार्ता जारी छ, पार्टी फुट्दैन’

लोकपथ
1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग पार्टी एकताको प्रयास जारी रहेको बताएका छन् ।

शुक्रबार पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले विचार मिल्ने दलहरूसँग एकता गर्ने एजेन्डा पार्टीले अघि सारेको जानकारी दिए । उनले भने, ‘हामीले एकीकृत समाजवादी र नेकपा विप्लवसँग पनि कुराकानी गरिरहेका छौँ । धेरै हल्ला नगरी छलफल अघि बढाइरहेका छौँ । असमझदारीलाई छलफलबाटै समाधान गर्छौँ ।’

पुनले माओवादी केन्द्र कुनै हालतमा नफुट्ने दाबी गरे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता जनार्दन शर्माबिचको अन्तरसंघर्षबारे सञ्चार माध्यममा आएका चर्चा प्रति प्रतिक्रिया दिँदै उनले भने, ‘पार्टीभित्र आएका विषयहरू छलफलमार्फत हल गर्छौँ, मिडिया वा बाहिरी हल्लाका आधारमा पार्टी नफुट्ने हो ।’

उनले पार्टीभित्र गुटबन्दी अन्त्य गरेर एकताबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए । ‘म पार्टीभित्र कुनै गुटमा छैन । पार्टी अध्यक्षकै नेतृत्वमा हामी एकताबद्ध भएर अघि बढ्छौँ भन्ने निष्कर्ष बैठकले निकाल्नेछ, ‘पुनले स्पष्ट पारे ।

त्यस्तै उनले बोलेको वा व्यक्त विचारका आधारमा पार्टीले कसैलाई कारबाही नगर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?