‘देशमा भ्रष्टाचारले सीमा नाघिसक्यो, प्रत्यक्ष निर्वाचन प्रणाली नै मूल कारण’

लोकपथ
224
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले चरम सीमा पार गरिसकेको दाबी गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार अन्त्यका लागि संरचनागत सुधार अपरिहार्य रहेको बताए ।

श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै, ‘भ्रष्टाचारीको आँखै हेर्दिन भन्ने सुनिन्छ, तर त्यसअनुसार व्यवहार र नतिजा देखिएको छैन,‘ भन्दै व्यंग्य गरे । उनका अनुसार वर्तमान प्रत्यक्ष निर्वाचन प्रणाली भ्रष्टाचारको मूल जरो हो ।

उनले भने, ‘करोडौँ खर्चेर चुनाव जित्ने, अनि पदमा पुगेपछि त्यसको असुली गर्ने प्रवृत्तिले गर्दा मन्त्री, मुख्यमन्त्री, सांसददेखि वडा अध्यक्षसम्म भ्रष्टाचारमा संलग्न छन् । मन्त्रीहरूले नीतिगत निर्णयमा सही गर्दा समेत जब फाइलमा गडबडी हुन्छ, जबाफदेहिता सचिव वा सहसचिवमाथि आइपर्छ, नेताहरू जोगिन्छन् ।’

श्रेष्ठका अनुसार, यदि निर्णयकर्ताहरू स्वयं जबाफदेही हुने व्यवस्था गरिएमा नेताहरू गैर जिम्मेवार आदेश दिन सक्दैनन् । उनले ७० करोडको भ्रष्टाचार प्रकरण, टेप काण्डजस्ता घटनाहरू स्मरण गर्दै, ‘जो पैसा खाँदछन्, उनीहरू कहिल्यै पक्राउ पर्दैनन्,‘भन्दै आलोचना गरे ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सक्रियता प्रति संकेत गर्दै श्रेष्ठले राजनीतिक चर्चामा रहेको ‘राजनीतिमा फर्कने हो कि होइन’ भन्ने बहसप्रति टिप्पणी गरे। उनले भने, ‘व्यक्ति परिवर्तनले खासै फरक पार्दैन, एजेण्डा परिवर्तनले गर्छ ।’

साथै उनले पूर्व राष्ट्रपति वा उपराष्ट्रपति भइसकेका व्यक्तिले संसदीय प्रणालीअनुसार पुनः सक्रिय राजनीतिमा फर्किनु नहुने धारणा व्यक्त गरे ।

श्रेष्ठको भनाइले वर्तमान निर्वाचन प्रणाली, राजनीतिक संस्कार, र नेताहरूको जबाफदेहिता विषयमा पुनर्विचार गर्नुपर्ने बहसलाई थप बल दिएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?