सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन सकिन्छ : देउवा

लोकपथ
1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशी लोकतन्त्र कायम रहेको बताएका छन् । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले सबै वर्ग र समुदायलाई प्रतिनिधित्व दिने समावेशी व्यवस्था सुनिश्चित गरेको बताए ।

देउवाले संविधानले महिला, दलित, आदिवासी, जनजाति लगायत सबै समुदायलाई जोड्ने काम गरेको उल्लेख गर्दै भने, ‘यो देशका सबैलाई समेट्ने खालको संविधान छ। यसमा सबैको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। हाम्रो देशमा समावेशी लोकतन्त्र भएको भन्न सकिन्छ।’

तर, उनले समावेशी संरचनाको सकारात्मक पक्षसँगै केही राजनीतिक चुनौतीको उल्लेख गर्दै भने, ‘संविधानले यस्तो संरचना बनाएको छ कि कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन कठिन हुन्छ। त्यसैले सरकार बनाउनका लागि पार्टीहरूबिच सहकार्य अपरिहार्य बन्छ।’

उनले सबै दल एकताबद्ध भएर अघि बढे मात्र बहुमत प्राप्त गर्ने सम्भावना रहेको बताए । ‘सबै मिलेर अघि बढे बहुमत पनि ल्याउन सकिन्छ र देश पनि समुन्नत दिशातर्फ अगाडि बढ्छ,‘देउवाको भनाइ थियो ।

त्यस्तै, उनले थारु समुदायप्रति विशेष सम्मान प्रकट गर्दै देशको कठिन परिस्थितिमा पनि यो समुदायले इमान्दारितापूर्वक राष्ट्रको साथ दिँदै आएको बताए ।

सभापति देउवाले समावेशितालाई नेपालको पहिचानका रूपमा स्थापित गर्दै त्यसको संरक्षण र प्रवर्द्धनमा सबैले भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?