रास्वपाको ‘खुल्ला आँगन’ साप्ताहिक संवाद कार्यक्रम सुरु हुँदै, नागरिकसँग प्रत्यक्ष संवाद हुने

लोकपथ
392
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम नागरिकसँग प्रत्यक्ष संवाद र जनताका आवाज सुन्ने उद्देश्यले साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन’ सुरु गर्न लागेको छ । हरेक शुक्रबार दिउँसो ४ बजेदेखि ६:३० बजेसम्म रास्वपाको केन्द्रीय कार्यालयमा कार्यक्रम हुने भएको हो ।

यो कार्यक्रमलाई पार्टीको जनमुखी र सहभागितामूलक राजनीतिक अभ्यासको सुरुवातका रूपमा लिइएको छ।

पार्टीले जनाएको अनुसार, खुला आँगनमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्न, सुझाव, आलोचना र जिज्ञासालाई स्वागत गर्दै जिम्मेवारीको अभ्यास थाल्नेछ । कार्यक्रममा केन्द्रीय नेतृत्व, विभागीय प्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक, आम नागरिक र सञ्चारकर्मीहरूको सहभागिता रहनेछ ।

रास्वपाले यो कार्यक्रमलाई पूर्वनिर्धारित एजेन्डाबिना संचालन गर्ने बताएको छ । तर, सान्दर्भिक विषयमा छलफल गर्ने अवसर प्रदान गरिनेछ । सहभागीहरूलाई स्वतन्त्र रूपमा बोल्न र चिनजान हुन प्रोत्साहित गरिनेछ । साथै, हरेक कार्यक्रमपछि उठेका सुझाव तथा जनमतहरूलाई सारांशमा संकलन गरी नीतिगत तहमा प्रस्तुत गर्ने र आवश्यक कार्यान्वयन गर्ने पार्टीको योजना छ ।

कार्यक्रमको व्यवस्थापन तथा सफलता सुनिश्चित गर्न पार्टी केन्द्रीय समिति, कार्यालय सचिव, तथा सांसदका स्वकीय सचिवहरूले सक्रिय भूमिका निर्वाह गर्नेछन् । सुझाव संकलन, सारांश निर्माण र संसद तथा पार्टीको कार्ययोजनामा तिनको समावेशीकरण प्रमुख कार्यभार रहनेछ।

यस संवाद कार्यक्रमले, जवाफदेहिता र सहभागितालाई संस्थागत गर्दै लोकतान्त्रिक मूल्यहरूलाई थप मजबुत पार्ने पार्टीको विश्वास छ ।

पार्टीले देश बदल्न चाहने सबै नागरिकलाई विचार, जिज्ञासा, सुझाव वा आलोचनासहित सहभागी हुन हार्दिक आमन्त्रणसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?