काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण, लगानी प्रवर्द्धन र पूर्वाधार विकासलाई सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिपछि अब आत्मनिर्भरतातर्फ अग्रसर हुने विश्वास व्यक्त गरे । उनले प्रभावकारी कूटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने र द्विपक्षीय तथा बहुपक्षीय सहकार्यका माध्यमबाट वैदेशिक लगानी, सहयोग तथा ऋण जुटाउने अवसर सिर्जना भएको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले खरिद ऐन तथा निर्माणसम्बन्धी नीति तथा कानुनहरू पुनरावलोकन गरेर संशोधनको प्रक्रिया अघि बढाइएको उल्लेख गरे । साथै, कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन केही कानुन खारेज, केही संशोधन र केही नयाँ बनाउने तयारी भइरहेको बताए ।
‘नेपाललाई ‘ल्याण्ड लक्ड’ बाट ‘ल्याण्ड लिंक्ड’ देशमा रूपान्तरण गर्न पूर्वाधार र कनेक्टिभिटीमा जोड दिइएको छ, ‘उनले भने, ‘बहुराष्ट्रिय कम्पनीहरूमार्फत मूल्य श्रृंखलाको विकास तथा निजी क्षेत्र, श्रम, रोजगार र व्यापार क्षेत्रमा पर्ने प्रभावका लागि सरकार आवश्यक रणनीति निर्माणमा केन्द्रित छ ।’
प्रधानमन्त्री ओलीले व्यक्तिगत र संस्थागत क्षमता विकासमा सरकार सक्रिय रहेको र सबै पक्षसँग सहकार्य गर्दै मुलुकको रुपान्तरणलाई दिगो बनाउने उद्देश्यमा नेपाल सरकार दृढ रहेको स्पष्ट पारे ।
प्रधानमन्त्रीको यो अभिव्यक्ति मुलुकको आर्थिक तथा कूटनीतिक रणनीतिलाई सुदृढ बनाउँदै अघि बढ्ने संकेतको रूपमा लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया