बागमतीमा कांग्रेस संसदीय दलको नेताको निर्वाचन हुँदै, चित्रकारले नमाने लामा आफै भिड्ने

लोकपथ
3.3k
Shares

बागमती । नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेता छनोटको लागि आज बुधबार निर्वाचन हुँदैछ ।

संसदीय दलका नेता लामाले हिजो भएको मतदानमा विश्वासको मत पाउन नसकेपछि आज दलको नेता छनौटका लागि निर्वाचन हुन लागेको हो । हिजो भएको अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत परेको थियो ।

संसदीय दलको आज हुने निर्वाचनका लागि नेपाली कांग्रेस बागमतीका सह–महामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

बिहानबाटै निर्वाचनको कार्यक्रम सुरु गरिसकेको समितिले आज दिउँसो २ देखि ३ बजेसम्म मतदानका लागि समय तोकेको छ । मतदान संसदीय दलको कार्यालय परिसरमै हुनेछ ।

प्रदेशसभामा इन्द्र बानियाँ एउटा टिमबाट उठ्ने निश्चित भए पनि अर्को टिमबाट को उठ्ने अहिलेसम्म निर्णय भएको छैन । ललितपुरबाट निर्वाचित सांसद रामकृष्ण चित्रकारलाई उठ्नका लागि बहादुरसिंह लामाको टिमले अनुरोध गरे पनि उनले मानिसकेका छैनन् । उनी नउठेको खण्डमा लामा नै उठ्ने सम्भावना छ । 

उता, बागमती प्रदेशका मुख्यमन्त्री लामाले संसदीय दलको नेताबाट हटेको भोलिपल्टै आज बुधबार तीन मन्त्री नियुक्त गरेका छन् । उनले धादिङका गोविन्द लम्साल र चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।

लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइँदा श्रेष्ठ र गुरुङको जिम्मेवारी भने तोकिन बाँकी छ । श्रेष्ठ र गुरुङलाई क्रमशः सहकारी र युवा खेलकुद मन्त्रालयको जिम्मा दिने तयारी छ । यद्यपि, मन्त्रालय परिवर्तन पनि हुन सक्ने छ । 

उनीहरूलाई आज बिहान ११ बजे शपथ दिलाउने तयारी भइरहेको छ । 

बागमतीमा कांग्रेसले सम्हालेको ५ वटा मन्त्रालयमा मन्त्री रिक्त थिए । ९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?