काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले भिजिट भिसाको नाममा भइरहेको संगठित भ्रष्टाचार र मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाएकी छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकार र राज्यसंयन्त्रले नागरिकप्रति जवाफदेही बन्ने संवेदनशीलता गुमाएको टिप्पणी गरिन् ।
सांसद कठायतले भिजिट भिसा प्रकरणमा गठन गरिएको छानबिन समिति टालटुले मात्र भएको आरोप लगाउँदै न्यायिक आयोग वा संसदीय विशेष समिति गठनको माग राखिन् । उनले भनिन्,‘यस देशमा कानुन, न्याय, जवाफदेहीता र संवेदना के मरेर गएको हो त ? संसद् र सडक दुवैमा मुद्दा उठ्दासमेत सरकार उदासिन छ।’
उनका अनुसार यस्तो गम्भीर विषयलाई टालटुले समिति बनाएर झारा टार्ने प्रयास भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले गठन गरिएको समितिलाई अस्वीकार गर्दै बृहत्, निष्पक्ष र विश्वसनीय छानबिनका लागि नयाँ संयन्त्र आवश्यक रहेको जनाएको छ।
सांसद कठायतले यो प्रकरणमा संयुक्त राष्ट्रसङ्घ र मित्र राष्ट्रहरूकै चासो बढेको उल्लेख गर्दै भनिन्, ‘छिमेकी भारतका मिडियामा समेत यो विषय प्रवेश गरिसकेको छ ।’
त्यस्तै, उनले संघीय निजामति विधेयकमा उल्लेख गरिएको दुई वर्षको कुलिङ पिरियडको प्रावधानलाई एमालेले नमान्नुको कारणबारे पनि प्रश्न उठाइन् ।
उनको धारणा अनुसार, यस्तो महत्त्वपूर्ण विधेयकमा नेकपा एमालेजस्ता दलको स्पष्ट र जिम्मेवार भूमिका आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया