लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, स्थिरता र आर्थिक समृद्धिको सपना साकार पार्ने दिशामा अघि बढिरहेको बताएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा (एमाले) रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले सरकारले चौतर्फी हमलाका बाबजुद पनि आफ्नो लक्ष्यप्रति दृढताका साथ अघि बढिरहेको बताए।
उनले देशलाई अस्थिर बनाउने तत्वहरूले सरकारलाई असफल बनाउने प्रयास गरिरहे पनि ती सबै प्रयासलाई चिर्दै सरकार अघि बढिरहेको दाबी गरे ।
पौडेलले नेपाली कांग्रेस–एमाले गठबन्धन २०८४ सम्म स्थिर रहने दाबीसमेत गरे । उनले भने, ‘बाहिर जसरी गठबन्धन भत्किँदैछ भनेर प्रचार भइरहेको छ, त्यसमा कुनै सत्यता छैन । यो सरकार शान्ति, स्थिरता र सुशासनका लागि बनेको हो ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशको सन्दर्भमा बोल्दै उनले एमालेको केन्द्रीय कमिटीले राष्ट्रपतिको गरिमा र हैसियतलाई ध्यान दिँदै भण्डारीको पार्टी राजनीतिमा पुनः प्रवेश उपयुक्त नहुने निर्णय गरिसकेको स्पष्ट पारे ।
उनले थपे, ‘भण्डारीको सदस्यता नवीकरण होइन, त्यो सदस्यता त परित्याग भइसकेको हो । जुन चिज कायम छैन, त्यसको नवीकरण हुँदैन भन्ने प्रष्ट हुनुपर्छ ।’
कार्यक्रममा उनले एमालेको विधान संशोधनका लागि तयार गरिएको प्रस्तावित मस्यौदा केन्द्रीय कमिटीले पारित गरिसकेको भन्दै सबैलाई छिटो सुझाव दिन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया