नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यतर्फ उन्मुख : उपेन्द्र यादव

लोकपथ
147
Shares

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख भइरहेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेपालमा कम्युनिष्ट आन्दोलन लिभरल डेमोक्रेटिक मुभमेण्टतर्फ मोडिएको दाबी गरे । उनले कम्युनिष्ट विचारधारामा अब स्थायित्व र स्पष्टता नरहेको उल्लेख गरे ।

‘नेपालमा कम्युनिष्ट आन्दोलन लगभग समाप्त हुँदै गएको म देख्छु। अहिले त्यो आन्दोलन लिभरल डेमोक्रेटिक मुभमेण्टतिर भड्किएको छ,‘यादवले भने।

उनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान प्रकट गर्दै पुष्पलालले जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा संघर्ष गरेको स्मरण गरे। ‘पुष्पलालजस्ता व्यक्तित्वलाई हामीले गणतन्त्रको निष्ठावान पक्षधरका रूपमा लिनुपर्छ, ‘उनले जोड दिए।

कार्यक्रममा यादवले कम्युनिष्ट आन्दोलनको सुरुवातदेखि नै षड्यन्त्र व्याप्त रहेको पनि उल्लेख गरे । उनले पुष्पलाललाई स्थापना गरेको कम्युनिष्ट पार्टीबाट दुई वर्षमै षड्यन्त्रपूर्वक हटाइएको स्मरण गराउँदै कम्युनिष्ट पार्टीको इतिहास नै षड्यन्त्रको गर्भबाट सुरु भएको टिप्पणी गरे ।

‘२००६ सालमा कलकत्तामा कम्युनिष्ट पार्टी स्थापना गरियो, तर दुई वर्षमै यति धेरै षड्यन्त्रकारीहरू पार्टीमा घुसे कि २००८ सालमै महासचिवबाट हटाइयो। त्यसपछि सुरु भएको षड्यन्त्र आजसम्म पनि अन्त्य भएको छैन,‘यादवले भने ।

उनले एक समय कम्युनिष्ट सत्तापक्षमा, प्रतिपक्षमा र जंगलमा समेत रहेको भन्दै अहिले त्यो शक्ति दिशाहीन हुँदै गएको धारणा राखे ।

कार्यक्रममा अध्यक्ष यादवले समसामयिक राजनीतिक अवस्थाबारे धारणा राख्दै वैकल्पिक विचार र आन्दोलन आवश्यक भएको धारणा पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?