तस्बिरको संयोग : ईश्वर विद्यापट्टी, शंकर ओलीपट्टी देखिए

लोकपथ
1.6k
Shares

काठमाडौं । आइतबार अपरान्ह पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबिच लामो छलफल भयो ।

झण्डै २ घण्टा एमाले मुख्यालय च्यासलमा ओली र भण्डारीबिच एमालेको आन्तरिक राजनीतिबारे छलफल भयो ।

भण्डारी ओलीसँग वार्ता गर्न पहिलोपटक पार्टी कार्यालय च्यासल पुगेकी थिइन् । पछिल्लो समय भण्डारीको राजनीतिक सक्रियतापछि एमाले हलचल नै मच्चिएको छ ।

खासगरी एमालेको भावी बन्ने दाउसहित भण्डारी राजनीतिमा सक्रिय बनिरहेकी छन् । भण्डारीले असार १४ मा आफू सक्रिय राजनीतिमा आउने घोषणा गरेसँगै एमालेभित्र कित्ताकाट समेत देखिएको छ ।

त्यसो त हालै बसेको सचिवालय र पोलिटब्यूरो बैठकमा त्यस विषयलाई लिएर अध्यक्ष ओलीसँग अन्य नेताहरुको नोकझोक नै चलेको बाहिरिएको थियो ।

कुनै बेला ओलीको खास मानिएका हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भण्डारी लाइनमा देखिएका छन् । त्यस्तै अन्य शीर्ष नेताहरु नखुल्दा महासचिव शंकर पोखरेल भने भण्डारीलाई राजनीतिमा रोक्नुपर्ने अडानमा देखिएका छन् । यदी भण्डारी एमालेमा सक्रिय रहेको अवस्थामा पनि शंकर पोखरेल ओलीलाई थप आड भरोसा भएर उभिने संकेत गरेका छन् ।

यता ईश्वर पोखरेल भने भण्डारीलाई सक्रिय बनाउने लाइनमा देखिएको बताइन्छ ।

केहीबेरअघि ओली र भण्डारीसहितका नेताहरु च्यासलबाट बाहिरिएका छन् । सो क्रममा एउटा तस्बिर सार्वजनिक भयो, भण्डारी, ओली र दुई पोखरेलको । जहाँ ईश्वर पोखरेल भण्डारीको साइडमा मुस्कुराइरहेका देखिन्छन् भने शंकर पोखरेल ओलीको साइडमा बसेर मुस्कुराइरहेका छन् ।

एमाले राजनीतिभित्र दुई लाइनमा वरिष्ठ उपाध्यक्ष र महासचिवको लाइन क्लियर भएको भनिएका बेला तस्बिरमा संयोग देखिएको हो । तर राजनीति सम्भावनाहरुको खेल भनिन्छ, तस्बिर संयोग मात्रै हो या वास्तविक पनि बन्छ त्यो भने समयले नै बताउनेछ ।

यो पनि…

विधानको ‘धारा’ देखाएर विद्यादेवीलाई रोक्दै एमाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?