काठमाडौं । सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्न संस्कृति र कलाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
आइतबार संसद भवनमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सन्दर्भमा विभिन्न देशबाट नेपाल आएका नेपाली कलाकारहरुसँगको भेटघाट कार्यक्रममा सभामुख घिमिरेले विगतमा नेपालीहरुले भोग्नुपरेको निरङ्कुश शासन, अभाव र उत्पीडनको स्मरण गर्दै हालका यस्ता सांस्कृतिक कार्यक्रमहरुले नेपालीपनको संरक्षण र प्रवर्धनमा योगदान गरिरहेको उल्लेख गरे ।
सभामुख घिमिरेले भने, ‘निरङ्कुश राजतन्त्रको साघुँरो घेराभित्र नेपाल छट्पटाइरहेको अवस्थामा न वाक स्वतन्त्रता थियो, न सांस्कृतिक स्वतन्त्रता । आर्थिक अवस्था कमजोर थियो । त्यसैबीच हामीले पञ्चायत अन्त्य गरी बहुदलीय व्यवस्था ल्यायौं ।’
उनले भुटानबाट नेपाली मूलका नागरिकहरू लखेटिएको प्रसङ्ग उठाउँदै ती नागरिकलाई नेपालले स्वागत गरेको घटनालाई स्मरण गरे । उनले भने, ‘भुटान पुगेपनि पाँच पुस्तापछि नेपाली नागरिक लखेटिए, जुन राष्ट्रियताको गहिरो अनुभूति गर्ने घटना हो ।’
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले विश्वभर रहेका नेपालीभाषीलाई एउटै मञ्चमा ल्याउने प्रयासलाई प्रशंसा गर्दै उनले यस्तो कार्यक्रमले भाषा, संस्कृति, साहित्य र पहिचानको संरक्षणमा सघाउ पुर्याउने धारणा राखे ।
सभामुख घिमिरेले संसारभर रहेका नेपाली भाषीलाई गास्ने प्रयासमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए । उनले थपे, ‘हामी जुन मुलुकबाट उत्पत्ति भयौं, त्यसको पहिचान हाम्रो भाषा, संस्कृति र संस्कारमा निहित छ ।’
कार्यक्रममा विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली कलाकारहरूको उपस्थिति थियो । सभामुख घिमिरेको भनाइले प्रवासमा रहेका नेपालीहरूमाझ आफ्नो पहिचान जगेर्नाको सन्देश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया