प्रत्यक्ष प्रणालीमै समानुपातिक सहभागिता आवश्यक : सभापति देउवा

लोकपथ
1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

देउवा निवास बूढानीलकण्ठमा आज नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्मा नेतृत्वको टोलीले बुझाएको २१ बुँदे ज्ञापनपत्र बुझ्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘जनतासँग प्रत्यक्ष रूपमा जोडिने भएकाले प्रत्यक्ष प्रणालीभित्र पनि समावेशी प्रतिनिधित्व आवश्यक छ,सभापति देउवाले भने, ‘यस विषयमा पार्टीभित्र र अन्य दलहरूसँग सल्लाह गर्छु ।’

ज्ञापनपत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको जनसंख्याको आधारमा कम्तीमा ५० प्रतिशत उम्मेदवार सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ । साथै, दलित महिलालाई अल्पसंख्यक महिलाद्वारा प्रतिस्थापन गर्ने प्रस्ताव खारेज गर्न माग गरिएको छ ।

मञ्चले पहिलो हुने निर्वाचित हुने प्रणाली (FPTP) अन्तर्गत महिला र दलितका लागि चक्रीय प्रणालीमार्फत निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिएको छ । उक्त सुझावअनुसार महिलाका लागि ५० प्रतिशत र दलितका लागि १३ प्रतिशत निर्वाचन क्षेत्र आरक्षित गरिनुपर्ने माग गरिएको छ ।

मञ्चका अध्यक्ष विश्वकर्माले समानुपातिक प्रतिनिधित्वमार्फत संविधानको मर्मअनुसार सबै समुदायको सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिए । उनले संसद्मा विचाराधीन रहेको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ मा समावेशी संरचनालाई कमजोर बनाउने प्रस्तावहरू तत्काल संशोधन गर्न पनि आग्रह गरे ।

देउवाले नागरिकको अधिकार सुनिश्चित गर्न र प्रतिनिधित्वको समावेशीतालाई थप बलियो बनाउन कांग्रेस प्रतिबद्ध रहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?