अख्तियारमा राप्रपाको उजुरी : ‘०४६ पछिका सबै उच्च पदस्थहरुको सम्पत्ति छानबिन होस्’

लोकपथ
2.5k
Shares

काठमाडौं । भ्रष्टाचार नियन्त्रण र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक उजुरी दर्ता गरेको छ ।

शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आयोगको टंगालस्थित कार्यालयमा उजुरी दर्ता गराएको हो । 

उजुरी दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले अहिले देशमा भ्रष्टाचार महामारीसरह फैलिएको बताउँदै गम्भीर चिन्ता व्यक्त गरे ।

उनले भने, ‘अहिले देशमा भ्रष्टाचार कहाँ छ भनेर होइन, कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ। मन्त्रीहरू एक–अर्कासँग कसले बढी र छिटो कमाउने भन्ने प्रतिस्पर्धामा लागेका छन् ।’

लिङदेनले अख्तियारलगायत संवैधानिक निकायहरू भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मेवारी पाएको भए पनि व्यवहारमा निष्क्रिय र निष्प्रभावी देखिएको टिप्पणी गरे ।

‘०४६ सालपछिका उच्चपदस्थ नेताहरू, कर्मचारी तथा तिनका आफन्तहरूको पनि छानबिन हुनुपर्छ, ‘उनले स्पष्ट पारे, ‘यो कुनै व्यक्ति वा पार्टी लक्षित नभएर समग्र प्रणाली सुधारको माग हो ।’

उनले राजनीतिक नेतृत्व अख्तियारको छानबिनको दायराबाट बाहिर रहँदा आयोगको निष्पक्षता र प्रभावकारितामै गम्भीर प्रश्न उठेको बताए ।

राप्रपाले भ्रष्टाचारविरुद्ध निष्पक्ष र प्रभावकारी रूपमा अघि बढ्न अख्तियारलाई सचेत गराउँदै यस्ता उजुरीहरूलाई गम्भीरताका साथ लिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?