काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर चक्रपथ विस्तारको काम तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद ज्वालाले उक्त आयोजनाको काम लामो समयदेखि ‘होल्ड’ मा राखिएको भन्दै चिन्ता व्यक्त गरे । उनले आयोजनाको भविष्यबारे स्पष्ट दृष्टिकोण नआए विकल्प खोज्नुपर्ने आवश्यकता औँल्याए ।
‘छिटो परिणाम खोज्ने जनता छन्,‘ज्वालाले भने, ‘प्राविधिक कुरा वा प्रक्रियागत पेचिलोपन सर्वसाधारणको चासो होइन, काम सुरु कहिले हुन्छ भन्ने नै मुख्य प्रश्न हो ।’
चिनियाँ कम्पनीले निर्माण गर्ने भनिएको चक्रपथ विस्तारको काम पटक–पटक ढिलाइ भइरहेको उल्लेख गर्दै उनले दोहोर्याइरहने ‘सुरु हुन्छ’ भन्ने वचन मात्र पर्याप्त नभएको बताए ।
‘ठोस रूपमा काम अघि नबढ्नु लाजमर्दो कुरा हो,‘सांसद ज्वालाले भने, ‘यो राजधानीको सडकको अवस्था हो भने दुर्गम क्षेत्रहरूको हालत झन् कस्तो होला ।’
उनले सरकारले चक्रपथ विस्तारसम्बन्धी स्पष्ट योजना र समय रेखा सार्वजनिक गर्नुपर्नेमा जोड दिए । यदि हालको योजना कार्यान्वयन हुन नसक्ने अवस्था छ भने वैकल्पिक योजना खोज्न ढिला गर्न नहुने उनको तर्क थियो ।
‘प्रक्रिया बताउनुभो, तर मूल चासो के हो भने ढिलाइको कारण के हो ?अब नहुने हो भने सरकार विकल्पसहित अघि बढ्नुपर्छ,‘उनले भने ।
सांसद ज्वालाले राजधानीको सडक विस्तार र सुधारलाई प्राथमिकता दिनु पर्ने भन्दै आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया