लिङ्देनको निर्णयले राप्रपामा असन्तुष्टि, ४ पदाधिकारीले बढाए दबाब

लोकपथ
1.2k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयले पार्टीभित्र असन्तुष्टि बढेको छ ।

खासगरी पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई लिङ्देनले आफूखुसी हटाएपछि भने असन्तुष्टि बढेको हो ।

बिहीबार पार्टीका ४ पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै पूर्ववर्ती निर्णयलाई सच्याउन दबाब सिर्जना गरेका हुन् ।

राप्रपाका उपाध्यक्षद्वय विक्रम पाण्डे र मुकुन्दश्याम गिरी तथा महान्त्रीद्वय डा.धवलशमशेर राणा र कुन्ती शाहीले निर्णयमा नेतृत्वको स्वेच्छाचारिता देखिएको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् ।

लिङ्देनले केही दिन अघि मात्रै राप्रपाका वरिष्ठ नेता नवराज सुवेदीको अनुशासन समितिको जिम्मेवारी खोसेका थिए । त्यसअघि संगठन विभाग प्रमुखबाट डा. धवलशमशेर राणा, सगुन सुन्दर लावतीलाई पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट निकालिएको थियो । त्यसको विरुद्ध केही दिन अघि सुवेदीसहितका नेताहरु निर्वाचन आयोगमा समेत पुगेका थिए ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै ४ नेताहरुले पार्टीलाई लिङ्देनले विधान विपरित चलाएको आरोप लगाएका छन् ।

‘विधानको यस्तो खुल्लमखुल्ला उल्लंघन र स्वेच्छाचारी क्रियाकलापले राप्रपालाई अपूरणीय क्षति पुगेको छ । विधानको व्यवस्था अनुरुपको विधि, संख्या र सीमा नाघेर एकलौटी रुपमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरु थप्ने र हटाउने कार्य यस अघि पनि पटक–पटक हुँदै आएको छ,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘यस परिवेशमा विधान विपरीत भएका निर्णयहरु सच्याउने आँट र साहस देखाऔँ । पार्टीभित्र आपसी विश्वास र एकताको नयाँ युग निर्माण गरौं । पक्ष विपक्षमा नलागी पछिल्लो समय अप्रिय घटनाबाट सिर्जित समस्या समाधान गर्न र पार्टी एक ढिक्का राख्न देशभरीका नेता तथा कार्यकर्तासँग सकारात्मक भूमिका र सहयोगको लागि अपिल गर्दछौँ ।’

त्यसो त राजावादी आन्दोलन चलिरहेकै बेला पूर्व उपाध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको घरमा बैठक बसेको थियो । सो बैठकको निर्णय समेत स्मरण गराउँदै नेताहरुले पार्टीभित्रको स्वेच्छाचारी प्रवृत्ति हटाउन समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?