अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सीमित भयो : सुहाङ नेम्वाङ

लोकपथ
532
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले हालको संसदीय अभ्यास निराशाजनक बन्दै गएको बताएका छन् । 

बिहीबार सिंहदरबारमा आयोजित नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठकमा बोल्दै उनले संसदभित्र नैराश्यता र नकारात्मकता हाबी हुँदै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरे ।

उनका अनुसार संसदमा भइरहेका गतिविधिहरूले संसदीय मर्यादा र जनआशामाथि प्रश्न उठाइरहेको छ । ‘महत्त्वपूर्ण कुराहरू जनताले स्पष्ट रूपमा सुन्न पाउने वातावरण बनाउनु जरुरी छ,‘उनले भने, ‘हामी सांसदहरूको जिम्मेवारी भनेको कानुनलाई जीवन्त बनाउने हो । जनतामा आशा जगाउने काम गर्नुपर्छ ।’

नेम्वाङले बेलायती संसद्को अभ्यासबाट सिक्नुपर्ने बताए पनि नेपाली सन्दर्भ, भूगोल र जनअपेक्षाअनुसार अभ्यास अनुकूल बनाउनु पर्ने धारणा राखे । उनले बेलायतको व्यवस्थालाई हुबहु नेपालमा लागू गर्न सम्भव नहुने तर त्यहाँको ज्ञान र अनुभव उपयोगी हुने बताए ।

सांसदहरूले विदेश भ्रमण गरेर त्यसको व्यवहारिक परिणाम नदेखिनु आफूहरूमाथि लाग्ने आलोचना रहेको उल्लेख गर्दै उनले भने, ‘जनताको करबाट विदेश भ्रमण गर्छौँ, तर फर्किएपछि त्यो भ्रमणले के फल दियो भन्ने प्रश्न उठ्छ । त्यसको मूल्यांकन हुनु आवश्यक छ ।’

नेम्वाङले विदेश भ्रमणबाट सिकेका कुरालाई स्वदेशमा प्रभावकारी रूपमा लागू गरेर मात्र त्यसको औचित्य पुष्टि हुने बताए । संसदमा देखिएको निराशाजनक प्रवृत्तिलाई चिर्दै जनउत्तरदायी र परिणाममुखी भूमिका निर्वाह गर्न सांसदहरू तयार हुनुपर्ने उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?