सरकार भ्रष्टाचारमा लिप्त हुँदा देश जटिल मोडमा गयो : प्रचण्ड

लोकपथ
119
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर जटिल मोडमा पुगेको बताएका छन् । 

बिहीबार ललितपुरमा आयोजित श्रम र उत्पादनका लागि वाइसिएल अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले देश संकटमा परेको टिप्पणी गरे ।

उनले अहिलेको सरकार जहाँ पुगे पनि भ्रष्टाचार फैलाउने प्रवृत्तिमा लागेको आरोप लगाए । अध्यक्ष दाहालले भने, ‘देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ । अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन ।’

उनले सरकारलाई सुशासनको विरुद्धमा खडा भएको सरकारको संज्ञा दिँदै मुलुकलाई असफल बनाउने दिशातर्फ सरकार अघि बढेको बताए ।

कार्यक्रममा उनले श्रम र उत्पादनलाई सामाजिक न्याय र समृद्धिसँग जोड्नुपर्ने धारणा राखे। ‘हामी सबैले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो योगदान पुर्‍याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नुपर्छ,‘ उनले जोड दिए ।

अध्यक्ष दाहालले युवालाई संगठित गरेर मात्र परिवर्तन उल्ट्याउने शक्तिहरूविरुद्ध सफल हुने उल्लेख गरे । 

साथै, आफूहरू खबरदारी गरिरहे पनि सरकारले भ्रष्टाचार जारी राखेमा जनभावनाविपरीत जाने सरकारको प्रतिवाद सडकबाट हुने चेतावनीसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?