काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार बस्दैछ । आज पार्टीको दोस्रो विधान महाधिवेशन तयारीका सन्दर्भमा सचिवालय बैठक लागेको हो । दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
पार्टीको पोलिटब्युरो बैठक साउन २ गते र केन्द्रीय कमिटी बैठक साउन ५ गते बस्ने तय भइसकेको छ । ती बैठकहरूमा पेस गरिने राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावहरूबारे प्रारम्भिक तयारी गर्न सचिवालय बैठक बोलाइएको हो ।
गत माघ ८ गते बसेको सचिवालय बैठकले भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही तयारीलाई तीव्रता दिन एमाले नेतृत्व आन्तरिक छलफलमा जुटेको हो ।
सचिवालयको निर्णयअनुसार महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल, तथा विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले तयार पार्ने छन् ।
विधान संशोधन प्रस्तावमा अध्यक्षको कार्यकाल र ७० वर्षे उमेर हद जस्ता विषयहरूलाई यथास्थितिमा राख्ने तयारी भइरहेको स्रोतले जनाएको छ। यसले पार्टीमा विद्यमान संरचनात्मक व्यवस्था यथावत् रहने सम्भावना बलियो बनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया