काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमार्फत भइरहेको मानव तस्करीप्रति सरकारको चुप्पीप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद नेपालीले भिजिट भिसाको आडमा भइरहेको मानव तस्करीबारे आफूहरूले पटक–पटक आवाज उठाउँदै आएको स्मरण गराउँदै सरकारले बेवास्ता गरेको आरोप लगाए ।
‘सरकारमा पेलेरै अघि बढ्ने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको समाचार आएको छ। यतिले मात्र हुँदैन, अरु मन्त्री पनि पोलिएका छन् ।’
सांसद नेपालीले घुस डिल काण्डको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै गृहमन्त्रीमाथि समेत प्रश्न उठाए। ‘अध्यागमन विभागमार्फत भइरहेको मानव तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने होरु’ उनले प्रश्न गरे ।
उनले छानबिन समिति कहिले गठन हुने हो भनेर सभामुखको ध्यानाकर्षण गराउँदै भने, ‘त्यो पदको यत्रो लोभ किन हो ?’
उनले गृहमन्त्रीमाथि लगातार प्रश्न उठिरहेको भएपनि नैतिक जिम्मेवारी नलिएको भन्दै गम्भीर टिप्पणी गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया