नेपाल लाइफले बाल अस्पताल निर्माणका लागि दियो १ करोड आर्थिक सहयोग

लोकपथ
322
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बाल स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको गैरनाफामुलक संस्था किओचलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल लाइफले आर्थिक सहयोग गरेको हो ।

किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी दुई संस्थाबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफ इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका छन् ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पताल किओच काठमाडौंको निर्माण कार्य अन्तिम चरणमा छ । अस्पतालको मुल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरूका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई कार्य आरम्भ भइसकेको छ ।

कार्यक्रममा बोल्दै यस कम्पनीका संचालक कमलेश कुमार अग्रवालले डा. भगवान कोइरालाको अग्रसरतामा शुभारम्भ भएको यस परियोजनाले नेपालमा रहेका बालबालिकाको स्वास्थ्यको अवस्था सुधार गर्न अतुलनीय भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक, आर्थिक, शैक्षिक र संस्कृतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा बताए । नेपालमा बाल स्वास्थ्यमा रूपान्तरण ल्याउनका निम्ति सुरुवात गरिएको यस परियोजनाका लागि सबैलाई बधाई तथा शुभकामना ज्ञापन गरे । बालबालिकाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नका लागि राजधानी लगायत सातैवटा प्रदेशमा सुविधायुक्त अस्पताल निर्माणार्थ आगामी दिनमा पनि सहयोग गर्न आफू प्रतिबद्ध रहेको जानकारी दिए ।

बालबालिकाको स्वास्थ्य उपचारका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ करोडको सहयोग प्रदान गरिएको र यसले न्यून आर्थिक अवस्था भएका बालबालिकाले विशिष्टिकृत अस्पतालमा विशिष्टीकृत चिकित्सकहरूबाट उपचार प्राप्त गर्नेमा आफू विश्वस्त रहेको समेत बताए ।

कार्यक्रममा बोल्दैे काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष, मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा. भगवान कोइरालाले नेपाल लाइफले प्रदान गरेको सहयोगले परियोजनाले गति प्राप्त गर्ने बताए । साथसाथै नेपाल लाइफले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे साथै आगामी दिनमा पनि यस प्रकारको सहयोग प्राप्त हुनेमा आशावादी रहेको बताए । नेपाल लाइफ जस्तो गरिमामय र ठूलो ब्रान्डसँग सहकार्य गर्न पाउँदा पनि किओचको गरिमा बढेको र काम गर्न थप हौसला प्राप्त भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?