सशस्त्रमा बढुवा : होम ज्ञवाली एसएसपीमा ‘कन्फर्म’ हुने, डीआईजीमा मनिष थापालाई दिगविजय सुवेदीको चुनौती 

लोकपथ
7.6k
Shares

काठमाडौं । सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहका कायममुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होम ज्ञवाली एसएसपीमा ‘कन्फर्म’ हुने भएका छन् । 

तीन वर्षभन्दा बढी समयदेखि आर्थिक प्रशासन महाशाखाको प्रमुख रहेका कामु एसएसपी ज्ञवालीलाई सो पदमा कन्फर्म गर्न गृह मन्त्रालय बढुवा समितिको सचिवालयले असार २६ गते नै तीन दिनको समय दिएर सूचना निकालेको थियो । तीन दिनको समयसीमा पनि सकिइसकेको छ । 

सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहमा एसएसपीको एउटा मात्र दरबन्दी छ । अब कन्फर्म भएसँगै ज्ञवालीले पूर्ण जिम्मेवारी लिएर कार्यसम्पादन गर्न सक्ने छन् । 

ज्ञवाली सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् । सो बेसिकबाट एसएसपी बन्ने उनी नै पहिलो व्यक्ति हुन् । सिसं ३ बेसिकका एक जना भने अहिले पनि डीएसपी नै छन् । 

उता, सशस्त्र प्रहरी बलको रिक्त एक नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सूचना निस्केसँगै आकांक्षी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को दौडधुप सुरु भएको छ । 

बढुवा समितिको सचिवालयका तर्फबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहालको नामबाट बिहीबार निकालिएको सूचनामा सम्भाव्य उम्मेदवारलाई आवश्यक कागजात बुझाउन पाँच दिनको समय दिइएको छ । 

वरीयताका आधारमा सबैभन्दा अगाडि एसएसपी कृष्णराज पाठक भएपनि उनी यो पटक पनि डीआईजी बन्ने सम्भावना न्यून छ । नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भएर सशस्त्र प्रहरीमा स्थानान्तरण भएका उनले यो पटक जसरी पनि बढुवामा पर्न लबिङलाई तीव्र पारेका छन् । तर कमजोर कार्यसम्पादनका कारण उनी यो पटकको बढुवामा पर्ने सम्भावना न्यून रहेको स्रोतको भनाइ छ । 

स्रोतका अनुसार, सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एसएसपी मनिष थापालाई बढुवा गर्न गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबिच ‘सहमति’ भइसकेको छ ।

सो सहमतिको सूचना चुहिएसँगै सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एसएसपी दिगविजय सुवेदी कार्यसम्पादन मूल्यांकनमा थापाभन्दा आफू अघि रहेको भन्दै त्यसै नछाड्ने पक्षमा नछाड्ने पक्षमा छन् । यसअघि पनि सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका दुई जना दीपेन्द्र कुँवर र विष्णु भट्ट डीआईजी भइसकेका छन् । सुवेदी सिसं २ अन्तर्गत सशस्त्र प्रहरी निरीक्षकदेखि एसपीसम्म दोस्रो वरीयतामा थिए । एसएसपी बढुवामा कुँवरलाई १ नम्बरमा बढुवा गर्दा उनलाई तेस्रो नम्बरमा बढुवा गरिएको थियो । सुवेदीले यसअघि कुँवर र भट्ट डीआईजीमा बढुवा हुँदा पनि फर्म भरेका थिए । 

यस्तै बढुवाका लागि सम्भाव्य उम्मेदवारमा प्रवीण कँडेल, कमल तिउसिना, नीरकृष्ण अधिकारीलगायत छन् । कँडेलप्रति भने सशस्त्र प्रहरी नेतृत्व असन्तुष्ट रहेको स्रोतको भनाइ छ । गत ११ र १२ असारमा भएको सशस्त्र प्रहरीको वरिष्ठ अधिकृत सम्मेलनमा सशस्त्रको नेतृत्वप्रति आधारहीन आक्षेप लगाएका कारण उनीप्रति आईजीपी अर्याल असन्तुष्ट छन् । उनलाई कारबाही गर्ने पनि तयारी भइरहेको छ । कँडेल नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भएर सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् । उनी सञ्चो नभएको भन्दै लामो समयदेखि कार्यक्षेत्र गएका छैनन् । 

सुवेदी, तिउसिना र अधिकारी पनि सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?