चितवन । सिमलतालमा भएको बस दुर्घटनाको एक वर्ष बित्दा पनि ३९ जना यात्रु अझै बेपत्ता छन् । गत असार २८ गते राति नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोसँगै दुई वटा बस त्रिशूली नदीमा खसेका थिए ।
ती बसमा ६२ जना यात्रु थिए -जसमा ३ जना जीवित फेला परेका, २० जनाको शव भेटिएको र बाँकी ३९ जना अझै भेटिएका छैनन् ।
दुर्घटनामा परेका बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए, जसमा १० जनाको शव फेला परेको र १६ जना बेपत्ता छन् । यसमा सात जना भारतीय नागरिक थिए, जस मध्ये दुई जना मृत फेला परेका र पाँच जना अझै बेपत्ता छन् ।
त्यस्तै, बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा ३६ जना सवार थिए, जसमा ३ जना जीवित, १० जना मृत र २३ जना बेपत्ता छन् । यहाँ पनि चार भारतीय नागरिक थिए, तीन मृत र एक बेपत्ता रहेको छ ।
दुर्घटनाको तत्कालपछि नेपाली गोताखोरले खोजी गरे पनि सफलता नपाएपछि विदेशी गोताखोरको सहयोग लिइएको थियो । तर, पहिरोले बगाएका दुई बस र बेपत्ता यात्रुहरूको खोजी अझैसम्म असफल भएको छ ।
घटनामा फेला परेका मृतकहरू मध्ये कतिपयको शव त्रिशूली र नारायणी नदी किनारका विभिन्न ठाउँहरूबाट फेला परेको थियो भने दुई शव भारतमा भेटिएको थियो ।
यस घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयले तत्काल सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । गृहमन्त्री रमेश लेखकले सो कार्यदलको प्रतिवेदन प्राप्त गरी प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यदलको प्रतिवेदनले मुख्य रूपमा भेलबाढीका कारण दुर्घटना भएको र सडक निर्माणमा उचित इन्जिनियरिङ नहुनुले दुर्घटना जोखिम बढाएको उल्लेख गरेको छ । प्रतिवेदनमा सडकमा कुनै टेवा पर्खाल नबनाएको, भिरालो र कमजोर भूगोल भएका कारण वर्षा भएपछि पहिरोले सडकमा आएको बसलाई धकेलेर नदीमा खसालेको निष्कर्ष उल्लेख छ ।
कार्यदलले बाँच्न सफल व्यक्तिहरू, प्रत्यक्षदर्शी, सडक विभाग र प्रशासनसँग छलफल गरी सवारी दुर्घटनामा ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति दिन र बेपत्ता ३९ जनाको खोजी यथाशक्य तीव्रता दिन सुझाव दिएको छ ।
यस घटनाले जनधनको ठुलो क्षति पुगेको भन्दै गृहमन्त्री लेखकले दुर्घटना न्यूनीकरण र विपद् व्यवस्थापनमा सरोकारवालाले जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया