काठमाडौं । नेपालबाट रसुवागढी हुँदै चीन जाने सडक अवरुद्ध भएको दुई दिनपछि चीन जाने अर्को राजमार्ग पनि अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी–२ इकुमा आज बिहीबार बिहान खसेको पहिरोले अरनिको राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीका अनुसार, बिहान ५ बजे पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो आएको र सडक तलसम्म भासिएका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनले सडक खुलाउनेबारेमा सडक विभागसँग समन्वय भइरहेको बताए ।
सडक पूर्णरुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालवाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुवाहक बस, साना–ठूला सवारीसाधन र एम्बुलेन्स पनि रोकिएका छन् ।
केरुङ र कोदारी–तातोपानी नाका दुवैतर्फको सडकमा क्षति भएपछि चीनसँगको सडक सम्पर्क विच्छेद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया