काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको छ ।
बुधबार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले कार्यविधिका बारेमा मंगलबारबाट काम सुरु गरेको र आजको बैठकले अन्तिम रुप दिएको जानकारी दिए ।
अब पारित गर्न मात्रै बाँकी रहेको उनको भनाइ छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । गडबडीबारे छानबिन गर्न प्रतिनिधि सभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो ।
समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार रहेका छन् । संसदको नियमावली, २०७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य छन् ।
नेपाली कांग्रेसबाट संयोजक परियारसहित र सुशीला थिङ तथा नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा रहेका छन् ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की हुनुहुन्छ । समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ ।
उनले भने, ‘हिजो हामीले कार्यविधिका बारेमा छलफल अघि बढाएका थियौँ । त्यो कार्यविधि अब अन्तिम चरणमा पुगेको छ । हामीले त्यसलाई पारित गर्न मात्रै बाँकी छ । काम कसरी अघि बढाउने भन्नेमा छलफल गरेका छौँ । कार्यविधिलाई अन्तिम रुप प्रदान गरेका छौँ ।’
बैठक बिहीबार सवा १२ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया