रहेनन् पहिलो आम निर्वाचनमा पाल्पाबाट निर्वाचित बनेका अच्युतराज रेग्मी

लोकपथ
1.6k
Shares

काठमाडौं । पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । नेपालको पहिलो संसद्मा पाल्पाबाट निर्वाचित भएका पुराना राजनीतिज्ञ रेग्मीको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो ।

पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत रहेका थिए । उनी पछिल्लो समय अस्वस्थ रहेका थिए । काठमाडौं मध्यबानेश्वरमा बस्दै आए पनि केही समय अघि अष्ट्रेलिया गएका रेग्मीको उतै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

विसं २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालको पाल्पा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार भएका उनी अत्याधिक मतका साथ विजयी भएका थिए । रेग्मी २०३४ सालमा पञ्चायती व्यवस्थाको समर्थक भएर मन्त्री समेत मन्त्री भएका थिए ।

पाल्पाका शिक्षाविद् डा रामप्रसाद ज्ञवालीका अनुसार रेग्मीको निधनले देशले एक असल राजनीतिज्ञ गुमाएको बताए । उनले भने, ‘रेग्मी मेरो फुपुको छोरा हुनुहुन्छ, आमाको निधनपछि मेरै घरमा बसेर २०१५ मा संसदीय चुनाव लड्नुभयो र विजयी पनि हुनुभयो । पछि उहाँ पञ्चायतमा गएर २०३३/०३४ मा मन्त्री पनि बन्नुभयो ।’

रेग्मी कांग्रेसको सह–महामन्त्री समेत बनेका थिए । मन्त्री बनेपछि उनी विस्तारै राजनीतिबाट निष्क्रिय हुँदै आध्यात्मिकतर्फ लागेको डा ज्ञवाली बताउँछन् । उनको श्रीमती, तीन छोरी र एक छोरा रहेका छन् ।

कांग्रेस पाल्पाले कांग्रेसका पूर्वसह–महामन्त्रीसमेत रहेका रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले मङ्गलबार शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

स्व रेग्मीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको योगदान पार्टीमा सदा स्मरणीय रहिरहने पार्टीले जनाएको छ । ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका जीवित साक्षीको अवसान अवश्य पनि अपूरणीय क्षति हो । दुःखको यस घडीमा स्व रेग्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ,’ शोक विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?