काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बर्खायामसँगै दोहोरिरहने बाढी–पहिरोजस्ता प्राकृतिक विपद्को सामना गर्न सरकार पूर्वतयारीमै लाग्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रत्येक वर्ष विपद् आएपछि मात्रै बैठक बस्ने परिपाटीको अन्त्य हुनुपर्ने उल्लेख गरे। ‘विपद् भएपछि मात्र गम्भीरता देखाउने होइन, सरकार युद्धस्तरमै पूर्वतयारीमा लाग्नुपर्छ,’उनले भने।
महामन्त्री शर्माले सोमबार राति चीनतर्फबाट आएको बाढीले रसुवातर्फ पारेको क्षतिप्रति चिन्ता व्यक्त गर्दै प्रभावितको उद्धार तथा राहतमा तत्काल गम्भीरता देखाउन सरकारको ध्यानाकर्षण गराए ।
उनले जलवायु परिवर्तनका कारण अब बर्खामात्र होइन, बेमौसममा पनि विपद् आउने क्रम बढिरहेको भन्दै वैज्ञानिक अध्ययन र जोखिमयुक्त क्षेत्रको पहिचानसहितको तयारीमा जोड दिए ।
‘चीनबाट आएको बाढी जलवायु परिवर्तनकै कारण हो वा ड्याम फुटेर आएको हो भन्नेमा अझै विज्ञको ठोस विश्लेषण आउन बाँकी छ,’उनले स्पष्ट पारे।
बाढीको कारण र प्रभाव अझै पूर्णरूपमा नखुले पनि घटनाले पुनः देखाएको छ – समयमै योजना र तयारी नभए मानवीय क्षति दोहोरिरहनेछ। शर्माले यसतर्फ सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया