ज्ञानेन्द्र शाहीको आरोप : ‘कांग्रेसले विपीको विचार बेच्यो’

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले नेपाली कांग्रेसप्रति तीव्र आलोचना गर्दै प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको विचार कांग्रेसले बेचिसकेको आरोप लगाएका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले संसदमा एउटै सांसदले बोले पनि उसको विचार सुन्नुपर्छ भन्ने विपी कोइरालाको लोकतान्त्रिक सोचलाई आजको कांग्रेसले बेवास्ता गरिरहेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसको सरकार छ भन्दा पनि मलाई लाज लागेर आयो। प्रजातन्त्रको ओकलत गर्नेहरूले संसदमा एक जना सांसदको आवाज पनि सुन्ने तयारी गर्दैनन् । कांग्रेसले विपीलाई बेच्यो जस्तो लाग्यो।’

शाहीले भिजिट भिसा दुरुपयोग प्रकरणबारे आफ्नो दलले लामो समयदेखि आवाज उठाइरहेको तर सरकारले बेवास्ता गर्दै आएको गुनासो गरे । उनले यो आन्दोलन सरकारविरुद्ध नभई मानव बेचबिखनविरुद्धको अभियान भएको स्पष्ट पारे । ‘हामीले सरकारविरुद्ध होइन, मानव बेचबिखनविरुद्ध आन्दोलन गरेका हौँ,’शाहीले भने, ‘यो आवाज संसदमा मात्र होइन, सडकबाट पनि उठ्नेछ ।’

सरकारप्रति चेतावनी दिँदै उनले भोलि जनताले प्रत्यक्ष प्रश्न गर्ने बताए, ‘तपाईंका मतदाताले भोलि सोध्नेछन् – भिजिट भिसाबाट कति पैसा कुम्ल्याउनु भयो ?’

अन्त्यमा शाहीले भिजिट भिसा प्रकरणको छानबिन संख्याको आधारमा नभई अपराधको प्रकृतिका आधारमा हुनुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?