काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोसीमा ठूलो बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तर, बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिस्ट सागर मिश्रका अनुसार, बाढीले नेपालमा ठूलो क्षति गरेको भएपनि प्रारम्भिक रूपमा हेर्दा तिब्बततर्फ भारी वर्षा भएको देखिँदैन ।
उनले बाढीबारे आफूहरूले अनुसन्धान गरिरहेको र सम्भावित कारणको अध्ययन थालेको बताए । उनले भने, ‘हामीले अध्ययन, अनुसन्धान गरिरहेका छौँ, प्रारम्भिक रूपमा हेर्दा भारी वर्षा भएको देखिँदैन ।’
पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि उक्त क्षेत्रमा भीषण वर्षा भएको नदेखिएको बताए । ‘विगत १२ घण्टाको मौसमी गतिविधि स्याटेलाइट तस्बिरहरूमा हेर्दा तिब्बतको भूभागमा पर्ने केरुङ जलाधार क्षेत्रमा त्यस्तो भीषण वर्षा भएको देखिँदैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले भोटेकोसीमा ठूलो बाढी आउनुको तीन कारण उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘रसुवागढीको बाढीको प्रारम्भिक कारण हेर्दा ठूलो वर्षासँगै थप अन्य तीन कारण हुन सक्छन् । १) हिमताल विस्फोटन, २) हिमपहिरो वा ३) भीषण पहिरो जसले प्राकृतिक बाँध निर्माण हुन गई नदीको बहावलाई केही बेर रोक्यो र पछि बाँध फुटेर भीषण बाढीको रूप लियो । बाँकी आउँदो समयमा थाहा होला ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया