काठमाडौं । चीनबाट आएको बाढीको प्रभाव त्रिशूली नदी र बुढीगण्डकी दोभानसम्म देखिन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । चीनबाट मंगलबार बिहान आएको भीषण बाढी भोटेकोसी नदीमा मिसिँदा नेपाली भूभागमा व्यापक क्षति पुगेको छ । डेढ दर्जन हराइरहेका छन् ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार, नारायणी नदी जलाधारको त्रिशूली उपजलाधारअन्तर्गत भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट ठूलो बाढी प्रवेश गरेको महाशाखाले जनाएको छ । महाशाखाले भनेको छ, ‘यस विभागको भोटेकोसीस्थित रसुवा–स्याप्रुबेंसी जलमापन केन्द्रमा आज बिहान ३ः३० बजे बाढी पुगेको देखिन्छ ।’
महाशाखाका अनुसार उक्त बाढी बिहान ५ बजेतिर बेत्रावती आइपुगेको थियो । बेत्रावती केन्द्रमा बहाव करिब साढे २ मिटरसम्म बढेको र हाल केही घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले त्रिशूली नदी किनार आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गर्दै भनेको छ, ‘प्रारम्भिक रूपमा यस बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनीघाट) आसपाससम्म पर्ने देखिएकोले आज दिउँसोसम्मै सतर्कता जरुरी देखिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया