राप्रपा सांसदले कोशी प्रदेश सभा बैठकमा ज्ञानेन्द्रलाई ‘श्री ५ महाराजधिराज’ भनेपछि…

लोकपथ
2k
Shares

काठमाडौं । कोशी प्रदेश सभा बैठकमा राप्रपाका सांसदले ‘श्री ५ महाराजधिराज’ भन्ने बोलेपछि आपत्ति भएको छ ।

सोमबार बसेको प्रदेश सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गोपालबहादुर विश्वकर्माले सो शब्द उच्चरण गरेका थिए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रदेश सभा बैठकबाटै ७९औँ जन्म दिनको शुभकामना दिएका थिए ।

‘आजको दिन चाँही यस्तो महत्वपूर्ण दिन परेछ कि । यहाँहरु सबै मान्यज्यूहरुलाई ध्यानाकर्षण गराउँछु । श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको ७९औँ जन्मजयन्ती परेको हुँदा सरकारको सुस्वास्थ्य, दीर्घायुको कामना व्यक्त गर्न चाहन्छु, यो राप्रपा संसदीय दलको तर्फबाट,’ उनले भनेका थिए ।

त्यसपछि उनले सुनचाँदीको आयातमा लगाइएको दोहोरो करबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

नेकपा एमालेले उक्त शब्दलाई संविधानले नचिन्ने भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग गरेको छ । त्यसपछि आपत्ति जनाउँदै बोलेका नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विदुर लिङ्थेपले विरोध जनाए । उनले राजाको रुपमा ज्ञानेन्द्रलाई संविधानले नचिन्ने भन्दै उक्त शब्द रेकर्डबाट हटाउन माग गरे ।

‘उहाँले श्री ५ ज्ञानेन्द्र भन्ने जुन शब्द प्रयोग गर्नुभयो, उहाँलाई संविधानले चिन्दैन । उहाँ श्री ज्ञानेन्द्र चाँही हुनुहुन्छ, तर श्री ५ रहनुभएन । त्यसकारणले यो चाँही हाम्रो रेकर्डबाट हटाइयोस्,’ उनले भने ।

त्यसपछि सभामुख अम्बरबहादुर विष्टले आफ्नो ध्यानाकर्षण भएको जनाए । संविधानमा बोल्नै नपाउने भन्ने कुरा नभएको भन्दै हटाउन मानेनन् ।

‘ठिकै छ मान्यज्यू तपाईँको कुराको ध्यानाकर्षण भएको छ । बोल्नै नपाउने भन्ने कुरा त त्यहाँ छैन क्यार । उहाँले जे भने पनि संविधानले जे भन्छ त्यो मात्र कायम भएर जान्छ,’ सभामुखले भने ।

‘हामी संविधान भित्रै छौँ र संविधान भित्रै रहौँ भन्ने कुरा हो,’ यता एमाले प्रमुख सचेतकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?