भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँ : सांसद सिंह

लोकपथ
224
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन् ।  आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  

उनले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको बताए ।  उनले जनसंख्याका आधारमा भौतिक पूर्वाधारहरूको निर्माण गर्न जरुरी रहेको बताए ।  उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलहरू बनेको तर प्रयोगमा आउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए । 

भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको भन्दै अनुसन्धानको माग गरे । भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगर्न आग्रह गरे ।  

उनले भने, ‘मधेस प्रदेशमा त्यत्रो जनसंख्या छ तर त्यहाँ एयरपोर्ट छैन । भैरहवामा छ, एउटै प्रदेशमा दुई वटा बनेका छन् । तर प्रयोग हुन सकेको छैन । भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको छ । विमानस्थलहरूलाई अलिकति सही ढंगले सदुपयोग हुने बनाउनुपर्छ । विदेशीको ऋण लिन्छौँ भने त्यसबाट इन्कम हुनुपर्‍यो नि । ऋण भ्रष्टाचार गर्नका लागि मात्रै लिने परिपाटी छ, त्यसमा समितिमार्फत ध्यानाकर्षण गराउँछु । जहाँ धेरै जनता छन् त्यही संरचनाहरू निर्माण गर्नुपर्छ । आम्दानी नहुने ठाउँमा लगानी नगरौँ ।’

सांसद सिंहले नागरिक धेरै भएको ठाउँमा नै संरचनाहरू बढी बनाउँदा प्रयोग बढी हुने जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?