सांसद निधीको आरोप : ‘एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना गरेन’

लोकपथ
756
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद विमलेन्द्र निधीले नेकपा एमालेले स्थानीय तहमा सत्ता गठबन्धनको न्युनतम शिष्टाचारसमेत पालना नगरेको आरोप लगाएका छन् ।

शनिबार जनकपुरमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटमा उनले एमाले सहमति र सामूहिक अभियानमा नजोडिएको गुनासो गरेका हुन् ।

‘नेपाली कांग्रेस सधैं सहमति र साझा प्रयासका लागि तयार छ,’निधीले भने, ‘तर एमाले आउँदैन भने के गर्ने ? समस्या त यहीँबाट सुरु हुन्छ ।’

उनले नारायण नगरपालिकाको उदाहरण दिँदै एमालेले नगरसभामा बजेट पास हुन नदिएको र मेयरको अधिकार कटौती गर्ने उद्देश्यले कार्यविधि बनाउन दवाव दिएको बताए ।

‘प्रधानमन्त्रीको अधिकार कटौती हुनेगरी क्याबिनेटको नियम बनाउँदा चल्छ, तर स्थानीय तहमा भने मेयरलाई अधिकार नदिने ? यो कुन अभ्यास हो ?’ निधीले प्रश्न गरे ।

उनले राजनीतिक प्रतिशोधका कारण कांग्रेस नेताहरुले ल्याएका योजनाहरुमा पनि अवरोध हुने गरेको बताए। ‘एउटा नेताले ल्याएको योजना अर्को नेताले अस्वीकार गर्ने, जनताको काम अवरुद्ध पार्ने -यो राजनीतिक असहिष्णुता हो,’उनले भने ।

निधीले सत्ता गठबन्धनमा न्युनतम सहकार्य र आपसी समझदारी अभावले विकासका काममै असर परेको बताए। उनले एमालेको यस्तो व्यवहारले सामूहिक हित र जनअपेक्षामा बाधा पुगेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?