काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसदमा प्रस्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्र संशोधन गर्नुपर्नेमा जोड दिएकी छन् ।
शनिबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले नीति निर्माणलाई प्रभावकारी बनाउन संशोधन प्रक्रियामा गम्भीरता जरुरी रहेको बताइन् ।
‘विधेयक प्रस्तुत भएपछि संशोधनका लागि पर्याप्त समय दिइन्छ । त्यस समयको प्रयोग गरेर विषयको राम्रोसँग अध्ययन गरी, पार्टीभित्र पनि छलफल गरेर मात्र संशोधन ल्याउनुपर्छ,’ कार्कीले भनिन्, ‘सबै सांसद कानुन विज्ञ हुँदैनन्, त्यसैले गहिरो छलफल र अध्ययन आवश्यक छ ।’
राज्य व्यवस्था तथा सुशासन समितिमा हालै उठेको कुलिङ पिरियडसम्बन्धी विषयलाई उदाहरण दिँदै उनले त्यसले सांसदहरूलाई झस्काएको बताइन् । ‘हामीले दफा-दफा अध्ययन गरेर मात्र अघि बढ्नुपर्ने पाठ त्यहाँबाट सिक्नुपर्छ,’ उनले भनिन् ।
सांसद कार्कीले विधायिकाको भूमिका नीति निर्माणमा केन्द्रीत हुनुपर्ने उल्लेख गर्दै गम्भीर र जिम्मेवार ढंगले विधेयक संशोधनमा सहभागी हुन सबै सांसदलाई आग्रह गरिन् । शनिबारको समितिको बैठकमा ऐन कार्यान्वयन मापनसम्बन्धी विषयमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया