अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सडक अवरुद्ध, यात्रुलाई सास्ती

लोकपथ
1.4k
Shares
फाइल तस्बिर

काठमाडौं । अविरल वर्षाले प्रमुख राजमार्गसहित दर्जनौं सडक अवरुद्ध भएका छन् । लगातारको वर्षाले ठाउँठाउँमा सडक भासिएको, पहिरो गएको र पुल भाँचिएपछि यातायात सञ्चालनमा ठूलो समस्या परेको छ ।

सडक विभागका अनुसार शनिबार बिहानदेखि अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । चीनसँगको तातोपानी नाका जोड्ने यो मार्ग ठप्प हुँदा सीमा पारको यातायातसमेत प्रभावित भएको छ । विभागले सडक क्षति भएको स्थानमा मर्मत (फिलिङ) कार्य भइरहेको जनाएको छ ।

त्यस्तै, बागलुङको निसीखोला–७ स्थित भूमिथान खोलामा सडक अवरुद्ध भएपछि कक्रहवा (भारत सीमा)–रुद्रपुर, सालझण्डी–सन्धिखर्क–देवीस्थान र बूर्तीवाङ–ढोरपाटन सडकखण्डमा पनि सवारी आवागमन ठप्प छ।

यसैबीच, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ र १ जोड्ने पुल शुक्रबार राति भाँचिएपछि नाला–च्यामासिङ सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।

वर्षासँगै देशभरका ६७ स्थानमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा रहेको विभागले जनाएको छ। कतिपय स्थानमा लामो समय सवारी रोकिँदा यात्रुहरूलाई सास्ती हुने अवस्था छ भने स्थानीय तह तथा सुरक्षा निकायहरूले सडक खुलाउने प्रयास जारी राखेका छन्।

सडक अवरुद्धताले दैनिक जनजीवन मात्र होइन, आपतकालीन सेवा र आपूर्ति व्यवस्थापनसमेत प्रभावित भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?