जापान : नेपाली विद्यार्थीलाई सिक्ने एक पाठशाला

लोकपथ
2k
Shares

००७ सालको राजनीतिक परिवर्तनसँगै विश्वसामु नेपालले आफ्नो कुटनीतिक सम्बन्धलाई विस्तारमा तिव्रता दियो । त्यही मध्ये एक पर्छ जापान । सन् १९५६ सालबाट औपचारिक रुपमा नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भयो, आज त्यसको झण्डै ७ दशक पुगिसकेको छ । एक असल मित्र जापानसँग नेपालको सम्बन्ध पछिल्ला वर्षहरुमा थप प्रगाढ भएका छन्, जापान अहिले नेपाली युवायुवतीहरुको अध्ययन र रोजगारीको मुख्य देश बनेको छ ।

वर्षेनी हजारौँ युवायुवतीहरु उच्च शिक्षा अध्ययन र रोजगारीका लागि जापान जाने होडबाजी नै चल्ने गर्दछ । प्लस टू पास गरेपछि विदेश जाने ट्रेण्ड त्यो मध्ये ठूलो भीड जापान जाने हुन्छ । जहाँ उच्च शिक्षा भनिन्छ, तर सोचनीय कुरा यो छ कि, के साँच्चै जापान उच्च शिक्षाका लागि हो त ?

देशमा लामो समयदेखिको राजनीतिक अस्थिरता, त्यही अस्थिरताको भूमरीमा परेर बढ्दै गइरहेको बेरोजगारी र त्यसले निम्त्याएको युवा पलायनताको अवस्था । पछिल्ला वर्षहरुमा त झन यस्तो दुःखद स्थिति सिर्जना भए कि, नेपालमा त केही हुँदैन, यहाँ सम्भव नै छैन भन्ने मानसिकता विकास भयो । अनि के विदेश गएपछि चाँही सबै कुरा पाइन्छ त रु यहाँ खासगरी नेपालीहरु जापान कुन सपना लिएर आउँछन्, किन सोचेजस्तो हुन सक्दैन ? मैले मेरो केही वर्षको जापानको अनुभव र नेपाली विद्यार्थीहरुको अवस्थाबारे चर्चा गर्दैछु ।

अर्कै देश, अर्कै भेष र भाषा ! विश्वमै छिटो दौडिने बुलेट ट्रेन, अनि बुलेट ट्रेनकै रफ्तारमा दौडिएर हिँडिरहेका मान्छेहरु । ‘काम र समयलाई भगवान’ जस्तै पुज्ने जापनीजहरु देखेर आएका सुरुका दिनहरुमा अचम्म लाग्थ्यो । विस्तारै बानी परेपछि मेसिनसरह दौडिनु, एकएक समयको हिसाव गरेर काम गर्नु, अनुशासनको बस्नु, नियम मान्नु, प्रविधिसँग घुलमिल हुनु बाध्यता बन्छ ।
जापानमा कामलाई सानोठूलो मानिँदैन । अध्ययनका लागि भन्दै जापान आउने नेपाली विद्यार्थीहरुमा विस्तारै भोलिको लागि आज दुख गर्ने बानी पर्न थाल्छ ।

दुःख गर्न सक्ने र दुःखमा खुसी खोज्नेहरुका लागि जापानको बसाइ अतिनै सुमधुर र सुविधासम्पन्न छ । नेपालबाट आउने जुनसुकै भिसामा आएको भए पनि कामप्रतिको लगनशिलता देख्न सकिन्छ ।

समयको महत्व, कामप्रतिको सम्मान, मेहनत र प्रतिफल, यी सबै कुराहरुलाई मात्र हेर्ने हो भने जापान उच्च शिक्षा भन्दा पनि रोजगारीको अतिनै उत्तम गन्तब्य हुन सक्छ । जापान विज्ञान र प्रविधिमा धेरै नै अघि बढेको देश हो । आएपछि पहिले यहाँको प्रविधिसँग ‘एडप्ट’ हुनु हामी नेपालीहरुको मुख्य चुनौतीको विषय बन्छ ।

अहिले जापानका भाषा स्कुल र विश्वविद्यालय (गाक्कोउ र दाईगाक्कोउ) हरु नेपाली विद्यार्थीहरुले भरिभराउ छ । उच्च शिक्षा भनेकै यहाँको भाषाको उच्च ज्ञान हो । जसले धेरै राम्रो भाषा जान्यो, त्यसले त्यति नै राम्रो रोजगारी पाउँछ, त्यसैले नेपाली विद्यार्थीहरु भाषा राम्रो बनाउन मरिमेटिरहेका हुन्छन् । नेपालबाट जापान आइसकेपछि नेपाली विद्यार्थीहरुले सिक्ने भनेको अनुशासन र मेहनत हो । अनुशासनमा नबस्ने र मेहनत नगर्नेहरुका लागि फेरि जापान विश्वकै कठिन देशमा पर्छ ।

समयको महत्व, कामप्रतिको सम्मान, मेहनत र प्रतिफल, यी सबै कुराहरुलाई मात्र हेर्ने हो भने जापान उच्च शिक्षा भन्दा पनि रोजगारीको अतिनै उत्तम गन्तब्य हुन सक्छ ।

जापान विज्ञान र प्रविधिमा धेरै नै अघि बढेको देश हो । आएपछि पहिले यहाँको प्रविधिसँग ‘एडप्ट’ हुनु हामी नेपालीहरुको मुख्य चुनौतीको विषय बन्छ ।

नेपालबाट आएका हरकोहीको आ–आफ्नै पीडा अनि बाध्यता छन् । उच्च महत्वकांक्षाले कतिपयलाई मृत्युको मुखमा समेत पुर्याइरहेको हामी देख्न सक्छौँ । केही गर्छु भनेर आउने र इमान्दार प्रयास गर्नेहरुका लागि जापान एक यस्तो देश हो, जसले मेहनत सिकाउँछ । हामी देख्छौँ नि, नेपालमा केही गर्न नसक्ने सबै अभिभावककै भरमा पर्नेहरु यहाँ आएपछि भने आफ्नो काम आफैँ गर्नुपर्ने रहेछ भन्ने बुझ्छ । फेरि जापानमा सबै थोक छ त, त्यो पनि पक्कै छैन । तर आज दुख गरियो भने भोली पक्कै केही हुनेछ भन्ने मानसिकता राखेर काम गर्नेहरु धेरै सफल भएका छन् । साथै भोलि नेपालमा नै केही गर्छु भन्नेहरुका लागि समेत जापानले एउटा पाठ सिकाइदिन्छ, हामी जस्तो अविकसित देशका नागरिकका लागि ।

अहिले जापान आएर विभिन्न क्षेत्रमा काम गरिरहेकाहरुलाई मात्रै सरकारले नेपाल फर्काउने र सीप अनुसारको काम र स्वरोजगार बन्ने वातावरण बनाइदिने हो भने त्यहीँबाट रोजगारी सिर्जना हुनसक्छ, ढुक्कसँग भन्न सकिन्छ । यहाँ आएर केही वर्ष बसेर यहाँकै वातावरण, अनुशासन र सिस्टममा भुलेपछि भने नेपाल पुग्दा कता कता विरक्त लाग्ने गर्छ । र केही गर्छु भन्ने सोच्नका लागि विभिन्न अनावश्यक उल्झनहरु झेल्ने मानसिकता बनाउनुपर्छ ।

तर यदी सरकारले जापान मात्र नभएर अन्य देशमा गएर विभिन्न क्षेत्रमा दक्षता हासिल गरेकाहरुलाई देशमै केही गर्ने प्रोत्साहन गर्ने हो भने हामीले खोजेको विकास धेरै टाढा पनि छैन ।

(पुडासैनी हाल उच्च शिक्षा र रोजगारीका लागि जापानमा रहेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?