काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्लाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
संसद् दिवस–२०८२ को अवसरमा सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले संसद्को भूमिकालाई केवल बहस, भाषण र नाराबाजीको मञ्चको रूपमा सीमित राख्न नहुने बताए । ‘संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन, निर्णय लिने र परिणाम दिने मञ्च हो,’सभामुख घिमिरेले भने, ‘जनताको आस्था बलियो बनाउने जिम्मेवारी संसद्को हो ।’
गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन भइरहेको प्रयत्नलाई निष्फल पार्न संसद्ले सक्रिय भूमिका खेल्नुपर्ने उनले स्पष्ट पारे । ‘गणतन्त्रलाई असफल बनाउन अनेक ढंगबाट प्रयास भइरहेको छ । ती प्रयासलाई निष्फल पार्नु आजको प्रमुख आवश्यकता र कर्तव्य हो,’उनले भने ।
पूर्वसांसदहरूको अनुभव, ज्ञान र क्षमताको सदुपयोग गरी वर्तमान बहुआयामिक चुनौतीहरूको सामना गर्नुपर्ने सभामुख घिमिरेको जोड थियो । ‘पूर्वसांसदसँगको अनुभव अहिलेको जटिल परिप्रेक्ष्यमा निकै उपयोगी हुन सक्छ,’उनले उल्लेख गरे ।
संसद्लाई प्रभावकारी बनाउने सन्दर्भमा उनले सशक्त सचिवालयको आवश्यकता पनि औँल्याए । ‘सशक्त सचिवालय बिना संसद्लाई प्रभावकारी बनाउने कल्पना गर्न सकिन्न,’ सभामुख घिमिरेले भने ।
उनको भनाइ अनुसार संसद्को भूमिकामाथि प्रश्न उठाउनु स्वाभाविक भए पनि संसदीय व्यवस्था र प्रणालीमाथि आघात पुर्याउने गतिविधिप्रति सशक्त प्रतिरोध आवश्यक छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, पूर्वसांसद, प्रतिनिधिसभा सदस्य तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया