सुनचाँदी र खाद्यान्नमा कर प्रणाली अनुचित : वर्षमान पुन

लोकपथ
245
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सुनचाँदीका गरगहना र खाद्यान्नमा लगाइएको कर प्रणाली अनुचित भएको भन्दै पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन्।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सुनचाँदी, हिरा–मोतीजस्ता गरगहनामा २ प्रतिशत विलासिता शुल्क लगाइएपछि विक्रीका विभिन्न तहमा उपभोक्ताले करसहित २० प्रतिशतसम्म तिर्नुपर्ने अवस्था आएको उल्लेख गरे। उनका अनुसार, सुनजस्ता वस्तुहरूलाई विलासी श्रेणीमा राखेर कर लगाउनु अर्थहीन छ।

‘गत वर्षको बजेटले १० लाखसम्मको सुनचाँदीलाई विलासिता श्रेणीबाहिर राखेको थियो, तर यस वर्ष उल्टो नीति लिइएको छ,’ पुनले भने, ‘सञ्चय गर्ने वा ठुलो कारोबार गर्नेहरूलाई लक्षित गर्दै कर लगाउन सकिन्छ, तर सामान्य कारोबार वा गरगहना किन्ने उपभोक्तालाई यस्तो भार पार्नु अनुचित छ।’

सांसद पुनले खाद्यान्न र गेडागुडीमा आयात गर्दा लागू गरिएको १० प्रतिशत अग्रिम कर हटाइएकोप्रति पनि असन्तुष्टि जनाए। उनले भने, ‘यसले घरेलु उत्पादनलाई क्षति पुर्‍याउँछ, विदेशी फलफूल सस्तो हुँदा नेपाली किसान र उत्पादन व्यवसाय धरासायी बन्न सक्छ।’

पुनले सरकारमाथि एउटा उद्योगलाई प्रवर्धन गर्ने नाउँमा अन्य २५ वटा उद्योग धराशायी बनाउने नीति लिएको आरोप पनि लगाए। उनले कर संरचनामा समग्र दृष्टिकोण राख्दै आम उपभोक्ता र घरेलु उत्पादनलाई संरक्षण गर्ने दिशामा नीतिगत सुधार गर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?