काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ‘मिसन ०८४’ मा कसैले बाधा पुर्याउने प्रयास गरे त्यसको कडा हिसाबकिताब गरिने चेतावनी दिएका छन्।
शनिबार जननेता मदनकुमार भण्डारीको ७४औँ जन्म जयन्तीका अवसरमा राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले अनुशासन, एकता र वैचारिक स्पष्टताको मार्गबाट नडगमगिने स्पष्ट पारे।
‘द्रोणाचार्यले धनुर्विद्या सिकाउँदा चराको आँखा मात्र देख्ने अर्जुनदृष्टि राख्थे, हामीले पनि मिसन ०८४ देखिरहेका छौँ,’ओलीले भने, ‘कसैले बाधा पुर्याउने कोसिस गर्यो भने त्यसको हिसाबकिताब हुनेछ।’
ओलीले महाधिवेशन नआउँदै केही स्वार्थ समूह सक्रिय भएको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिहरूलाई प्रोत्साहन नगर्न कार्यकर्तालाई निर्देशन दिए। पार्टीको अनुशासन र एकतालाई तोड्न खोज्नेहरू सफल नहुने उनको दाबी छ।
‘अनुशासनहीन ढंगले कोही नेता वा कार्यकर्ता एमालेमा चल्न सक्दैनन् भन्ने विश्वास लिएको छु,’उनले भने, ‘हामीले पार्टीलाई वैचारिक र संगठनात्मक हिसाबले एकताबद्ध बनाएर अघि बढाउनु पर्छ।’
ओलीले पार्टीभित्र महाधिवेशनको चर्चा नचले पनि केही समूहले व्यक्तिगत घोषणामार्फत वातावरण बिगार्न खोज्न सक्ने भन्दै त्यस्तो प्रयासलाई रोक्नुपर्नेमा जोड दिए।
एमालेको ‘मिसन ०८४’ आगामी निर्वाचनलाई लक्षित गरेर तय गरिएको रणनीतिक योजना हो, जसअन्तर्गत पार्टीले ठुला राजनीतिक उपलब्धिहरू हासिल गर्ने लक्ष्य लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया