काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै रहेको एक होटलबाट सशस्त्र प्रहरीले आज शुक्रबार ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरूमा सिराहा जिल्लाको सिराहा नगरपालिका–८ बस्ने ४० वर्षीय मोहम्मद अख्तर मिया र धनुषा जिल्लाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षीय सामान यादव छन् ।

उनीहरूलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सोही ठाउँमा रहेको दर्शन नमस्ते ईन होटलबाट किनबेच गर्ने तयारी गरिरहेको समयमा ब्राउन सुगर र जोख्न प्रयोग हुने एक थान तराजु, ३ थान मोबाइल, २ वटा पासपोर्ट तथा नगद १२ हजार १ सय ७५ रुपैयाँसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कालिदास धौवजीले बताए ।
उनीहरूले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँबाट लागूऔषध ल्याई काठमाडौंमा बेचबिखन गर्दै आएको बताइएको छ । नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद ब्राउनसुगरसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रवक्ता धौवजीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया