नेपाल–माल्दिभ्स मेडिकल शिक्षा सम्झौता अन्तिम चरणमा, मन्त्री पौडेलद्वारा चाँडै सहमति हुने संकेत

लोकपथ
441
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले माल्दिभ्सका विद्यार्थीलाई नेपालमा मेडिकल अध्ययनको अनुमति दिनेसम्बन्धी द्विपक्षीय सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमसँगको भेटवार्तामा मन्त्री पौडेलले चाँडै सम्झौता गर्ने गरी गृहकार्य भइरहेकाे बताएका हुन् । उनले एमडी, एमएसका साथै एमबीबीएस तहमा पढ्न चाहने माल्दिभ्सका विद्यार्थीलाई बेग्लै कोटाको सम्भावनाबारे पनि छलफल जारी रहेको जानकारी गराएका छन् ।

मन्त्री पौडेलको सचिवालयका अनुसार नेपाल सरकारले माल्दिभ्सका विद्यार्थीलाई लक्षित गर्दै नीतिगत परिमार्जनको तयारी गरिरहेको छ । यसअघि इण्डोनेसिया र जेनेभामा भएका वार्तामा समेत यस विषयमा छलफल भइसकेको थियो । साथै, विदेशीसँग सम्बन्धित मेडिकल शिक्षा नीतिको सुझाव दिन कार्यदलसमेत गठन गरिएको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री पौडेलले माल्दिभ्समा कार्यरत नेपाली श्रमिकहरूले विप्रेषण पठाउँदा भोग्नुपरेको समस्या उल्लेख गरेका थिए । जवाफमा माल्दिभ्सका राज्यमन्त्री गसिमले यो विषयमा अर्थ मन्त्रालयसँग छलफल गरी समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीलाई आकर्षित गर्ने सरकारको रणनीतिमा यो सम्झौतालाई महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?