काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासमा विनयी खोलामा रहेको पुल भाँचिएको ६ महिना बित्न लाग्दासम्म सरकारले विकल्प प्रस्तुत नगर्दा सवारी चालक र यात्रुहरू चरम सास्तीमा परेका छन्।
गत वर्षको पुस २६ गते अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण राजमार्गकै सबैभन्दा लामो विनयी खोलाको पुल भाँचिएको थियो। त्यसयता सरकारले पुल मर्मतमा ढिलाइ गर्दा देशको प्रमुख पूर्व–पश्चिम यातायात र ढुवानी सेवा अस्तव्यस्त भएको छ।
पुल भाँचिएपछि अस्थायी डाइभर्सनमार्फत सञ्चालन गरिएको यातायात सेवा पनि केही हप्तामै भारी वर्षाले बगाएको थियो। वैकल्पिक मार्ग प्रयोग गर्न खोज्दा पनि स्थानीयवासीहरूले मालवाहक ट्रकलाई अवरोध गरेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
ट्रक चालक कृष्णबहादुर श्रेष्ठका अनुसार, उनी ४ दिनदेखि बर्दघाटमै अलपत्र परेका छन्। ‘४ दिन दुम्कीबास पारी खडा भएर बसियो, आज १० दिन भयो,’ श्रेष्ठले भने, ‘प्रशासनलाई भन्यौँ, सुन्दैन। सरकार चाहन्थ्यो भने पुल बनाउने, गाउँलेलाई सम्झाउने, सब सम्भव हुन्थ्यो।’
उनकै जस्तो पीडा ट्रक चालक बुद्धि सागर न्यौपानेले पनि सुनाए। ‘चार दिन भोकै बस्यौँ, साथीहरू डेंगु लागेर अस्पताल भर्ना भएका छन्,’ उनले आक्रोश व्यक्त गर्दै थपे, ‘देश यातायातले धानेको छ, तर हामीलाई हेर्ने कोही छैन।’
ना ६ ख ३६९९ नम्बरको ट्रकमा आलु र प्याज बोकेर आएका चालक सुबोध पासवानले डाइभर्सन नखुलेपछि २२ वटा ट्रकमा बोकेको तरकारी कुहिँदै गइरहेको बताए। ‘दश चक्के गाडी जान पाउँछन्, हामी १२ चक्के नपाउने ?’ उनले प्रश्न गरे।
अर्का चालक ज्ञानबहादुर कार्कीले यो सरकारको चरम लापरबाही भएको भन्दै आक्रोश पोखे। ‘कल्पना भन्दा बाहिरको सास्ती छ,’ उनले भने, ‘अरू पुलहरूमा त एक साइडबाट भए पनि यातायात सञ्चालन हुन्छ, यहाँ त पुरै बेवास्ता।’
पुल सञ्चालनमा नआउँदा कतिपय सवारीसाधनहरू बुटवल–पाल्पा–स्याङ्जा–पोखरा–मुग्लिङ हुँदै काठमाडौं जान बाध्य छन्, जसले समय, लागत र जनस्वास्थ्यमा गम्भीर असर पारेको छ।
सडक डिभिजन कार्यालयका अनुसार दुम्कीबासस्थित भाँचिएको पुल यहीँ असार महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। तर, यसबारे यकिन मिति सार्वजनिक नगरिएकोले सर्वसाधारण र ट्रक चालकहरू अझै अन्योलमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया