काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि पूर्वाधार निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बल न्यून स्रोत र साधनमा काम गरिरहेका छन् । तिनका लागि पूर्वाधार विकास अत्यन्तै आवश्यक छ । चालु आर्थिक वर्षमा हामीले उपलब्ध बजेटको सीमाभित्र रहेर केही प्रस्तावहरू अघि बढाएका छौँ । तीनवटै तहको साझेदारीमा ४० करोड रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ । यो पहिलो अभ्यास हो । सफलताको आधारमा यसलाई अझ विस्तार गरिनेछ ।’
गृहमन्त्री लेखकले प्रहरी चौकी, बिओपी (सीमा सुरक्षा बल पोस्ट) र इलाका प्रशासन कार्यालयहरू थप निर्माण तथा अस्थायी प्रहरी चौकीहरूलाई स्थायी बनाउने मागहरू आएका बताउँदै ती कार्यलाई मन्त्रालयको प्राथमिकतामा राखिएको स्पष्ट गरे ।
यद्यपि, उनले यस्ता संरचना निर्माण कार्यले राज्यमा थप व्ययभार पर्ने भएकाले सबै माग तुरुन्तै सम्बोधन हुन नसक्ने स्पष्ट पारे । ‘यी मागहरू क्रमशः सम्बोधन गर्दै जाने हाम्रो नीति हो,’उनले थपे ।
सुरक्षा निकायमा सरुवा र बढुवा प्रक्रियालाई व्यवस्थित गर्न कानुनी सुधारको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि सम्बन्धित विधेयकहरू संसदमा पेश गरिएको पनि जानकारी दिए । उनले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको आधार बनाउँदै लैजाने कार्यलाई अघि बढाइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया