सुदूरपश्चिममा स्थानीय सेवा ऐन माग गर्दै कर्मचारी पुनः आन्दोलनमा

लोकपथ
112
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरू फेरि आन्दोलनमा उत्रिएका छन् । स्थानीय सेवा ऐन तुरुन्त जारी गर्न माग गर्दै उनीहरुले फेरि आन्दोलन सुरु गरेका हुन् ।

यसअघि पनि उनीहरूले सोही माग राख्दै दुई साता लामो आन्दोलन गरेका थिए । माग पूरा नभएपछि फेरि आन्दोलन सुरु गरेका सुरु छन् ।
आन्दोलनको पहिलो चरणमा अत्यावश्यकबाहेकका सेवा बन्द गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना सुरु गरिएको छ।

उनीहरुले अन्य छ वटा प्रदेशमा ऐन लागू भइसकेको तर सुदूरपश्चिममा मात्र आलटाल गरिएको आरोप लगाएका छन् ।

गत वर्ष १३ जेठमा तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेशसभामा सो सम्बन्धी विधेयक पेस गरेका थिए। त्यसपछि २५ जेठमा सामान्य छलफल भएको र २९ साउनमा विधेयकलाई समितिमा पठाइएको थियो। समितिले २८ वटा बैठक गरी प्रतिवेदन तयार पारी सभामुख भीम भण्डारीलाई बुझाएको थियो ।

तर, विधेयक सीमित कर्मचारीलाई मात्र फाइदा हुने भन्दै केही दल र विद्यार्थी संगठनहरूले विरोध जनाएका थिए। अर्कोतर्फ, कर्मचारीहरूले भने विधेयक हुबहु पारित गर्नुपर्ने माग राखेका छन् । प्रदेशसभा अधिवेशन अन्त्य भएपछि आन्दोलन केही समय रोकिएको थियो, तर माग पूरा नभएपछि अब आन्दोलन फेरि चर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?