काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको बहुदलीय जनवाद पुँजीवादी सरकारमा जाने भर्याङ मात्रै हो ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण माग गर्दै सांसद सुवालले यस्तो प्रश्न गरेका हुन् ।
उनले मुलुकको सार्वजनिक ऋण २७ खर्ब, बेरुजु ६ खर्ब र १५ खर्ब व्यापार घाटा रहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी गरे ।
उनले जनताको निराशा हटाउने र तीव्र आर्थिक वृद्धि यही हो ? भन्दै प्रश्न गरे । उनले पतञ्जली, गिरिबन्धु चिया बगान, बाल मन्दिरको जग्गा हिनामिना गर्ने प्रधानमन्त्रीहरूलाई कारबाही नगरिएको भन्दै आपत्ति जनाएक हुन् ।
उनले भने, ‘सार्वजनिक ऋण २७ खर्ब, बेरुजु ६ खर्ब, व्यापार घाटा १५ खर्ब, राजश्व तलब नपुग्ने अवस्था नै जनताको निराशा हटाउने र तीव्र आर्थिक वृद्धि हो र ? समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य तीन दशकपछि बुढ्यौली समाज बनाउने, २५ प्रतिशत नागरिक अहिले पनि कुपोषणको कारण पुड्कोपन हुने यही हो र ? पतञ्जली, गिरिबन्धु चिया बगान, बाल मन्दिरको जग्गा हिनामिना गर्ने प्रधानमन्त्रीहरूलाई के कारबाही हुँदैछ ?’
सांसद सुवालले सहकारी संस्थाको चार खर्ब बचत ठगी गर्नेलाई कहिले कारबाही हुन्छ ? भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया